चितवनमा मृगौला तस्करी,गिरोहमा मकवानपुरका पनि

गुगलपाटी संवाददाता १४ साउन,चितवन
१४ श्रावण २०७५ ०४:३१

मेडिकल सिटीको रुपमा विकास हुँदै गएको चितवनमा मृगौला तस्करी बढेको छ । तस्करीमा मकवानपुरका समेत गिरोहको संलग्नता पाइएको छ ।

चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । अन्ततः सोही टिमले चितवनबाट मिगौला तस्करी हुने गरेको पत्ता लगाएको छ ।

चितवन प्रहरीले अन्ततः मिर्गौला तस्करी गर्ने पाँच जना गिरोहलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नं।४ बस्ने वर्ष ४१ का हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४ बस्ने वर्ष ३५ का बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ बस्ने वर्ष २८ को प्रकाश तामाङ, मोरङको साविक बयरबन गाविस–६ बस्ने वर्ष ३४ का दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नं।३ बस्ने वर्ष २८ का विशाल नेपाली रहेका छन् ।

दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको गलत फाईदा उठाई उनीहरुलाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गर्ने प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मिर्गौला समूहका बिक्रम पहरी, प्रकाश तामाङ र दिपक लिम्बुलाई यही साउन १ गते चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाण्डौंबाट र बिशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको उनले जानकारी दिए । उनले यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान भईरहेको बताए ।

पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १÷१ वटा मिर्गौला बिक्री गरेको डिएसपी ढकालले जानकारी दिए । डिएसपी ढकालले भने–“सोझा सिधा तथा निमुखा सर्वसाधारणहरुलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालहरुमा सम्पर्क गराई मिर्गौला तस्कर गर्ने गरेको खुल्न आएको छ, थप अनुसन्धान गरिरहेका छौं ।”

उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मृगौला बिक्रीबाट ५० हजार देखी एक लाख सम्म कमिशन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी ढकालले बताए ।

पक्राउ परेका निज व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भई रहेको छ । डिएसपी ढकालले चितवनमा यस्ता किसिमका घटनाहरु हुने गरेको बारे सामान्य जानकारी आएपछि प्रहरीको टिम नै परिचालन भई अनुसन्धान भईरहेको बताए । नारायणी अनलाईनबाट