चेपाङ, चिउरी र चमेरोबीचको सम्बन्ध के ? चिउरी संरक्षणमा किन जुटे राक्सिराङबासी
गुगलपाटी संवाददाता हेटौंडाचिउरीको रुखबाट राम्रो आम्दानी भएकाले राक्सिराङ गाउँपालिकाका बासिन्दा यसको संरक्षणमा जुटेका छन् । त्यहाँका बासिन्दाले भएका चिउरीको रुखको संरक्षण गर्नुका साथै १ सय ५ण् विरुवा लगाउने अभियान चलाएका छन् ।
राक्सिराङ–६ सिलिङ्गे स्थिति सिलिङ्गे सामुदायिक वनले गत वर्षदेखि अभियान चलाएको हो । कीट विकास निर्देशनालय काठमाडांले वनलाई चिउरीका विरुवा ढुवानी गर्न ५० हजार रुपियाँ उपलब्ध गराएको छ । ‘चितवनको मौरीपालन केन्द्र भण्डाराबाट गतवर्ष ५ हजार विरुवा लगेर सिलिङ्गेमा वितरण गरियो, तीमध्ये अधिकांश विरुवा हुर्किएका छन् ।’ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिंहबहादुर चेपाङले भने ।
विगत केहीवर्षदेखि सिलिङ्गेका बासिन्दा चिउरीसँगै चमेरोका संरक्षणमा पनि जुटेका छन् । चिउरीको रुखमा परागशेचन गराउने माध्म नै चमेरो हो भन्ने बुझेपछि चमेरोको पनि संरक्षण सुरु गरिएको हो । चिउरीको रुखकै कारण भुक्षय रोकिनुको साथै हिउँदमा पनि पात नझर्ने भएकाले हरियाली छाउने गर्दछ । चिउरी संरक्षण गर्नुपर्ने कारण मौरीपालनसँग जोडिएको छ । चिउरीको कारण मौरीपालन फस्टाउने र चिउरीको फूलमा चरेको मौरीले निकै गुणस्तरीय मह उत्पादन गर्ने गर्दछ ।
चिउरीको गेडाबाट घिउसमेत निकाल्ने गरिन्छ । विकट भेगका चेपाङ समुदायले पछिल्ला समय चिउरी र चमेरोको महत्व बुझेर संरक्षण अभियानमा लागेका छन् । आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले समाचार लेखेका छन् ।