जेठो राजमार्गको यात्रामा जोखिम, बजेट छुट्याउन कन्जुस्याई
गुगलपाटी संवाददाता हेटौंडामुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा यात्रा जोखिमयुक्त बन्दै गइरहेको छ । समयमै मर्मत नहुँदा सडकको खाल्डाखुल्डीले आउजाउ गर्न समस्या भइरहेको छ । धेरै ठाउँमा सडक भासिएका छन् । धेरै ठाउँमा साना सवारीका टायर नै पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन ।
‘जेठो राजमार्ग सरकारको बेवास्ताको कारण जीर्ण बन्दै गइरहेको छ’ थाहा नगरबासी अच्युतम ढकालले भने ‘राजधानी प्रवेश गर्ने सबै सडक बाढी र पहिरोले अवरुद्ध हुँदा यो सडक विकल्प हुन्थ्यो ।’ धेरै सवारी चल्ने हुँदा सडकको अवस्था जीर्ण बनेको उनले बताए । मुग्लिन–नारायणगढ चौडा पार्ने क्रममा त्रिभुवन राजपथमा सवारीको चाप बढेको थियो ।
वर्षायाम सुरु भएपछि हेटौंडा–कुलेखानी फाखेल र दक्षिणकालीको सडक अवरुद्ध हुने गरेकाले त्रिभुवन राजपथमै सवारी चाप बढ्यो । सडकमा सवारीको चाप बढ्दो छ तर, सरकारले भने सो सडकको लागि बजेट छुट्याउन कन्जुस्याईं गरेको डिभिजन सडक कार्यालयका इन्जिनियर आशुतोष कर्णले बताए । ‘दुःखको समयमा आवश्यक पर्ने जेठो राजमार्गको बेवास्ता गर्नु राम्रो होइन ।’ उनले भने । गत आवमा यो राजमार्गलाई तीन करोड विनियोजन गरिएको थियो ।
रकम निकासा ढिलाई हुँदा दुई करोड मात्र खर्च भएको उनले बताए । राजमार्गको अवस्थाबारे थाहा नगरपालिकाका स्थानीय चिन्तित छन् । राजमार्ग जीर्ण भएपछि सवारी हलुका सवारी साधनहरु आउन छाडेको र आफ्नो व्यापामार समेत असर परेको थाहा नगरपालिकास्थित थाना बजारमा रहेको फेम्ली होटलका उकेश केसीले भने । आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले समाचार लेखेका छन् ।