प्रदेशको मुख ताक्दा बासुदेव सभागृह निर्माण अलपत्र
गुगलपाटी संवाददाता हेटौंडानिर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हेटौंडाको बासुदेव सभागृहको कामले अझै केही समय निरन्तरता नपाउने देखिएको छ ।
३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएसँगै निर्माणाधीन सभागृहलाई प्रदेशसभा हल बनाउने चर्चा चलेको थियो । सोही चर्चा सँगै हेटौंडा उपमहाागरपालिकाले निर्माणमा हात झिकेपछि अझै अलपत्र हुने हो कि भन्ने आशंका बढेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगे पनि अन्य पूर्वाधार बनिनसकेकाले सभाहल पूर्ण रुपमा सञ्चालन आउन सकेको छैन । हेटौंडामा प्रदेश सरकारको संरचनामा व्यवस्थापनकाृ क्रममा निर्माणाधीन सभाहललाई प्रदेशसभाहलको रुपमा प्रयोग गर्ने चर्चा चलाइए पछि गत वर्ष हेटौंडा उपमहागरपालिकाले छुट्याएको १ करोड रुपियाँ पनि खर्च गरिएन ।
‘प्रदेश सभाहलको रुपमा प्रयोग गर्ने भनेपछि हामीले सामान्य मर्मतको काम मात्र गरेर छोड्यौं ।’ हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद उपाध्यायले भने । ‘प्रदेशसभाहल बनाउने भएपछि सरकारले चाहिएअनुसारको संरचना बनाउने होला भनेर हामीले त्यतातिर ध्यान दिएनौं ।’ उपमहानगरले गतवर्ष सहलगानीमा निजी क्षेत्रसँगको सहकार्यमा सभाहलको बाँकी काम सक्याउने लक्ष्य राखेको थियो ।
प्रदेश सभाहल बनाउने चर्चासँगै उपमहानगरले कुनै काम नै अघि बढाएन । ३ नम्बर प्रदेश सरकारले भने प्रदेशको स्थायी संरचना बनाउने बारे कुनै निर्णय नभएको जनाएको छ । स्थायी राजधानीको टुङ्गो नलागेसम्म स्थायी संरचना नबन्ने भएको हो । प्रदेशसभा सचिवालयका सचिव भरत बुढाथोकीकाअनुसार प्रदेशसभा हलको लागि भनेर सरकारले कुनै बजेट छुट्याएको छैन । उपमहानगरले प्रदेशको मुख ताक्ने र प्रदेश सरकारले पनि सभाहल निर्माणको लागि कुनै बजेट नछुट्याउँदा सभाहल निर्माणमा अझै विलम्ब हुने देखिएको छ ।
आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।