पीडित महिलाको साहारा बन्दै ‘ओसीएमसी’
गुगलपाटी संवाददाताहेटौंडा बिगत ७ वर्षदेखि हेटौंडा अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडित महिलाको निम्ति सहारा बनेको छ ।
यौनजन्य र घरेलु हिंसामा परेका महिलालाई औषधि उपचार, कानुनी कारबाही र मनोबल बढाउने कार्य ओसीएमसीले गर्दै आएको छ । १४ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन् । उनको १२ साता नाघिसकेको अवस्था थियो । ओसीएमसीको पहलमा हेटौंडा अस्पतालका चिकित्सकले उनको अनिच्छामा भएको गर्भ फालिदिएका थिए । ओसीएमसीको पहलमा किशोरीलाई बलात्कार गर्नेलाई पक्राउ गरी कानुनी कारबाही पनि गरिएको थियो ।
किशोरीलाई तीनदिनसम्म ओसीएमसीमै राखेर उपचार गरी पठाइएको थियो । यसैगरी ११ वर्षीया बलात्कृत बालिकालाई पनि ओसीएमसीमै राखेर उपचार गर्नुका साथै मनो परामर्श दिइएको थियो ।
२०६८ सालमा हेटौंडा अस्पतालसहित मुलुकका ५ अस्पतालमा ओसीएमसी सेवा सञ्चालनमा ल्याइएको थियो । ‘यहाँको सेवाप्रभावकारी भएकाले अन्य अस्पतालबाट पनि यहाँ अवलोकन गर्न आउने गरेका छन् ।’ डाक्टर कमल दवाडीले भने । ‘विभाग र मन्त्रालयले पनि हेटौंडाको असीएमसीको अवलोकनको लागि सिफारिस गर्ने गरेको छ ।’
स्थापना भएको वर्ष ६८ जनाले सेवा लिएका थिए भने आव २०७३/७४ मा ३ सय २१ जना पीडित महिलाले सेवा लिएका थिए । गत आवमा ४ सय ११ जनाले ओसीएमसीमार्फत सेवा लिएको जनाइएको छ । प्रहरीका अनुसार गत आवमा मकवानपुरमा ४ सय ६ वटा घरेलु हिंसाका घटना भएका थिए । लैङ्गिक हिंसाका ५२ घटना भएका थिए । चालु आवको १५ दिनमा ५ जना महिलाले ओसीएमसीबाट सेवा लिइसकेको ओसीएमसी प्रमुख बालकुमारी ढकालले जानकारी दिइन् ।
आजको कान्तिपुर दैनिकमा प्रताप विष्टले हेटौंडाबाट समाचार लेखेका छन् ।