सुमार्गीपत्नीले मन्त्रीलाई ‘तिमी’ भनेपछि…
गुगलपाटी संवाददाता हेटौंडामन्त्रीलाई तिमी भन्ने आँट सितिमिति कसैको हुँदैन । परिवारका जेष्ठ सदस्यबाहेक आम मान्छेले मन्त्रीलाई प्रयोग गर्ने शब्द आदरार्थी नै हुन्छन् । तर, हेटौंडामा एक ब्यापारिक घरानाकी महिलाले प्रदेश सरकारका मन्त्रीलाई ‘तिमी पनि यहाँ ?’ भनेर सार्वजनिकरुपमै प्रश्न गरेपछि केहीबेर खैलाबैला मच्चियो ।माओवादी अध्यक्ष प्रचण्ड हेटौंडा पुगेका बेला उनलाई भेट्न पुगेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललाई व्यवसायी अजेयराज सुमार्गीकी पत्नी अस्मिता सुमार्गीले सोधिन्– ‘ए तिमी पनि यहाँ ?’हेडौंडा मुकाममै बसेर मन्त्रालय हाँकिरहेका मन्त्री दुलाल अस्मिताको प्रश्न सुनेर अक्क न बक्क भए । अनि खिस्स हाँस्दै भने– ‘अँ म यतै छु ।’मन्त्री दुलालको उत्तर नसकिँदै अस्मिताका पति अजेयराज सुमार्गीले ‘उहाँ अहिले प्रदेशको मन्त्री हुनहुन्छ’ भने ।लगत्तै अस्मिताले भनिन्– ए, थाहा थिएन ।मन्त्रीलाई व्यापारीकी पत्नीले तिमी भनेर सबैका सामु सम्बोधन गरेपछि हेटौंडामा तरंग पैदा भएको छ ।सुमार्गीले व्यवस्थापन गरेको हेलिकोप्टरमा सिराहा पुगेर मंगलवार साँझ फर्किएका प्रचण्ड हेटौंडामा लामो समय सुमार्गी परिवारसँगै रहे । प्रचण्ड तीन घण्टा सुमार्गीको निवासमा बसेका थिए । उनले त्यहाँ केही गोप्य भेटघाटसमेत गरेका थिए ।बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कुनै औपचारिक कार्यक्रम बिना नै हेटौंडामा आएको बताए ।प्रचण्डसँगै रहँदासमेत पटक–पटक सुमार्गीको घरमा पुगेका प्रदेश मन्त्री दुलाललाई गरिएको सम्बोधनले भने हेटौंडामा अहिले निकै चर्चा पाएको छ ।कुनैबेला प्रचण्डको अंगरक्षक रहेका मन्त्री दुलाललाई प्रचण्ड परिवारसँग उठबस गरेकी अस्मिताले सायद यसअघि पनि यसै गरी तिमी भन्थिन् कि ?