पहिरोले सिस्नेरीको बाटो अवरुद्ध
गुगलपाटी संवाददाता हेटौंडा, २८ साउनहेटौंडाबाट काठमाडौं पुग्ने छोटो मार्ग सिस्नेरी–दक्षिणकाली–काठमाडौ सडक अवरुद्ध भएको छ । सस्नेरीतर्फको सडकअन्तर्गत इन्द्रसरोबर गाउँपालिका–३ पाथीखोल्चामा पहिरो खसेको छ । बिहान करिब ८ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकायता उक्त स्थानमा पानी नपरे पनि पहिरो खसेको हो । यसअघि पनि सोही स्थानमा पहिरो खस्दा पटकपटक सडक अवरोध हुँदै आएको छ । कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ सडकमा भने यो समाचार तयार पर्दासम्म कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रु लिएर काठमाडौं हिँडेका र काठमाडौंबाट आइरहेका दर्जनौं सवारीको लाइन लागेको छ । पहिरो पन्छाउनको लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ ।