स्थानीय पत्रपत्रिकाः करको दायरा बढाउने रणनीति, हेटौंडा–काठमाडौंको सडक दूरी छोटिँदै
गुगलपाटी संवाददाताहेटौंडा हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले फरकफरक विषयलाई प्रमुख समाचारका रुपमा उठान गरेका छन् ।
आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशमा करको दायराबढाउने रणनीति रहेको सम्बन्धी प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । देशभरका स्थानीय तहले करको दर र दायरा निर्धारण गरेसँगै व्यापक विरोध भइरहेको छ । गरिबको लागि मात्र कर थुपारिएको भन्दै आक्रोश व्यक्त हुँदै आएको छ । ३ नम्बर प्रदेश सरकारले भने करको दर बढाउने भन्दा पनि करको दायरा बढाउने रणनीति लिएको आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले बताए । जनताले कर तिरेको अनुभुत गर्ने गरी सरकारले सेवा प्रदान गरिनुपर्नेमा पनि मन्त्री ढुङ्गेलको जोड ।
त्यसैगरी आजको साझाकुरा दैनिकले हेटौंडा–काठमाडौंको सडक दुरी अझै छोटिने भन्ने समाचार प्राथमिकताको साथ छापेको छ । करिब ४५ करोडको लागतमा भीमफेदी–कोगटे–इपा–देउरालीरोड–सिस्नेरी सडक कालोपत्रे हुने प्रक्रिया सुरु भएको छ । ३ वर्षभित्र यो सडक कालोपत्रे गर्ने लक्ष्य राखिको छ । यो सडक सञ्चालनमा आए सँगै हेटौंडा–काठमाडौंको हालको सडक दुरी ६ किलोमिटर छोटिने छ । भीमफेदी–कोगटे–इपा–सिस्नेरीको ३३ किलोमिटर कालोपत्रेको प्रक्रियामा गएसँगै भीमफेदी गाउँपालिकाको विकट क्षेत्रको पनि विकास हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी आजको समृद्ध समाज दैनिकले राष्ट्रिय योजना आयोगलाई प्रदेश सरकारले सुझाव दिएको सम्बन्धी प्रसङ्गलाई पहिलो पृष्ठमा छापेको छ । ३ नम्बर प्रदेश सरकार र सरकारका उच्च पदस्थ कर्मचारीहरुले राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सांसदहरु अझै पनि २० वर्ष पुरानो मानसिकतमा रहेको भन्दै पुरानो मानसिकता त्याग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी आजको प्रदेश दैनिकले सरकार विरुद्ध नियोजित सड्यन्त्र भइरहेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा गरेको सम्बोधन सम्बन्धी प्रसङ्ग छापेको छ । प्रदेशसभामा उठेका सवालहरुको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकारको अपमान गर्ने काम भइरहेको टिप्पणी गरेका छन् ।
हेर्नुहोस् आजको स्थानीय पत्रपत्रिकाको पहिलो पृष्ठ