गोले सम्मानित
गुगलपाटी संवाददाता हेटौंडा,१ भदौ
मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा बिगतमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले शुक्रबारसम्मान गरेको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान गरिएको हो ।
तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको अध्यक्षता तथा प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानको प्रमुख आतिथ्यतामा आज हेटौँडामा भएको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनलाई सम्मान गरिएको हो । २४ औँ तामाङ प्रसारण दिवसमा ‘तामाङ पत्रकारिता सम्मान–२०७५’ बाट गोलेलाई सम्मान गर्दै प्रमुख अतिथि घलानले गोलेलाई आगामी दिनमा पनि तामाङ पहिचानका क्षेत्रमा अग्रसर हुन आग्रह गरिन् । मकवानपुरमा बिगतका दिनहरुमा तामाङ सञ्चारका माध्यमबाट तामाङ भाषा, धर्म, रितिरिवाज तथा समग्र तामाङ समुदायलाई टेवा पुराएको भन्दै उनलाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का महासचिव कृष्ण सारु मगरको विषेश आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुर अध्यक्ष तिर्थबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष लिलाकुमार घलान, नगर घेदुङ अध्यक्ष भिमलाल सिन्तान, गुम्बा बिहार संरक्षण संघ जिल्ला अध्यक्ष नीरु थिङ, तामाङ पत्रकार संघका केन्द्रीय सदस्यद्वय दुदुमाया सिन्तान र शुभराज भोम्जन, नेपाल तामाङ घेदुङ मकवानपुरका सल्लाहकार एवम् युवा नेता शुभरत्न गोले, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल लगायतको उपस्थिति रहेको थियो ।