बिप्लवको मेयरमाथि नै धावा

कृष्णउदास खनाल वीरगन्ज
८ चैत्र २०७४ १०:४७

सशस्त्र संघर्षको धम्की दिइरहेको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा) ले स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा माग्दै धम्की दिन थालेको छ ।
इसबीचमा उसले वीरगन्ज महानगरपालिका मेयरको राजीनामा माग गरेको छ । वीरगन्ज महानगरका मेयर बिजय सरावगीलाई राजीनामा दिन चेतावनी सहित नेकपाले पत्र पठाएको हो । जिल्ला जनपरिषद (जनसत्ता)का संयोजकले राजीनामा पत्र काटेर उनीहरुको राजीनामा माग गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले देशभर जनपरिषद् निर्माण गरेर अघि बढिरहेको बताउँदै राजीनामा पत्रमा “दलाल संसदीय सत्ताको कथित जनप्रतिनिधि बनेर नबस्न भनिएको छ” । ‘तपाईं दलाल संसदीय सत्ताको कथित जनप्रपतिनिधि बनेर बस्नु जनघात र राष्ट्रघातमा सहीछाप लगाउनु सरह हो । नेपाली जनताप्रति विश्वासघात गर्नु हो । मुलुक र जनतालाई फेरि युद्धतर्फ धकेल्ने कुरामा सहमति जनाउनु हो ।’ पत्रमा थप लेखिएको छ , ‘अतः हाम्रो जनसत्ताले दलाल संसदीय सत्ताको सम्पूर्ण पक्रिया र गतिविधिलाई खारेज गरेर अघि बढी रहेको सन्दर्भमा तपाईले यो पुरानो कथित प्रतिनिधिबाट तत्काल राजीनामा दिइ वैज्ञानिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकीकृत जनक्रान्तिमा साथ, सहयोग, सामेल र समर्थनका लागि हार्दिक अपील गर्न चाहन्छु ।’
पर्सा जिल्ला संयोजक बुच्ची यादवले हस्ताक्षर गरेको राजीनामा पत्रमा राजीनामा जनताको तर्फबाट गरिने प्रतिवादको सामना र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफैं बन्न चेतावनी दिएको छ ।यता वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले भने जनमतले जितेर आएका मानिसहरु जुनसुकै परिस्थितिसँग लड्न तयार रहेको बताए । उनले जनप्रतिनिधिलाई धम्की दिनुको अर्थ नभएको बताए ।उनले आफू बिरुद्ध हुने कुनैपनि गतिबिधिको प्रतिकार हुने र राजिनामा दिने कल्पना समेत आफूले नगेको बताए ।