स्थानीय पत्रपत्रिकाः प्रदेशसभामा स्थायी राजधानीबारे चासो

गुगलपाटी संवाददाता हेटौंडा
१९ भाद्र २०७५ ०१:११

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेशसभामा सोमबार भएका गतिविधिलाई प्रमुख समाचार बनाएर छापेका छन् ।

आजको साझाकुरा दैनिकले प्रदेशसभामा बलात्कारीलाई कारबाहीदेखि स्थायी राजधानीको बारेमा प्रदेश सांसदले आवाज उठाएको प्रसङ्गलाई छापेको छ । दिनहुँजसो भइरहेको बलात्कारको घटनामा संलग्नलाई कडा काराबाही गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् ।

त्यसैगरी ३ नम्बर प्रदेशको स्थायी राजधानीको विषय छिट्टै टुङ्ग्याउन पनि सांसदहरुले दबाब दिएका छन् । राजधानी सम्भाव्यता अध्ययन समितिले सभामुखलाई प्रतिवेदन बुझाइसके पनि प्रदेशसभामा छलफलको लागि नल्याइएको भन्दै सोमबार बोल्ने अधिकांश सांसदले आपति जनाए ।

आजको हेटौंडा सन्देश दैनिकले हेटौंडामा बाहिरी जिल्लाको पानी भित्रिरहेको र त्यसको शुद्धताबारे प्रशासन बेखबर रहेको समाचार छापेको छ । मकवानपुरका पानी उत्पादन गर्ने कम्पनीलाई अशुद्ध पानी उत्पादन गरेको भन्दै रोक लगाएपछि बाराको बि टु र चितवनको पियुस नामको पानी हेटौंडामा भित्रिएको छ । तर, त्यो पानी पनि कतिको शुद्ध छ छैन भन्नेबारेमा प्रशासनले कुनै जाँच गरेको छैन ।

आजको समृद्ध समाज दैनिकले पनि प्रदेशसभाको सोमबारको गतिविधिलाई प्रमुख समाचार बनाएर छापेको छ । त्यस्तै हेटौंडा १ चौकीटोलमा एकीकृत रुपमा सुमो काउन्टर सञ्चालनमा आएको समाचार पनि समृद्धले पहिलो पृष्ठमै छापेको छ ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका पहिलो पृष्ठ