प्रदेश १ र ३ का युवा उद्यमीहरुबीच अनुभव साटासाट

गुगलपाटी संवाददाता
२ चैत्र २०७४ १३:१२

प्रदेश नम्बर एकका युवा उद्यमी तथा व्यवसायीहरुले प्रदेश तीन अन्तर्गत मकवानपुरका उद्यमी तथा ब्यवसायीहरुसँग भेटघाट र उद्यम अवलोकन गरेका छन् । प्रदेश एकको ताप्लेजुङ, पाँचथर, तेह्रथुम र सुनसरीका युवा उद्यमीहरुले मकवानपुरका युवा उद्यमीहरुले सञ्चालन गरेका उद्यमको अवलोकन तथा अनुभव साटासाट गरेका हुन् ।
राष्ट्रिय युवा परिषदको युवा उद्यम अनुभव आदनप्रदान कार्यक्रम अन्तर्गत भ्रमणमा आएका टोलीले हेटौंडा ५ स्थित श्रमजिवी महिला काष्ट हस्तकला उद्योग र हेटौंडा १८ स्थित हेटौंडा पोल्ट्री एण्ड ह्याचरी प्रा.लि.को अवलोकन गरेका छन् । मकवानपुरमै महिलाहरुले काष्ट हस्तकला सामग्री उत्पादन गर्ने पहिलो उद्योग श्रमजिवी महिला काष्ट हस्तकला उद्योगका उत्पादनले बजार नपाएको उद्यमी महिलाहरुले गुनासो गरेका थिए ।
हेटौंडा पोल्ट्री एण्ड ह्याचरी ब्रोइलर कुखुराको अण्डा उत्पादन गर्ने मकवानपुरको पहिलो उद्योग हो । उद्योगका सञ्चालक सुनिल अधिकारीले सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गरेको बताएपनि आफुहरुले कुनै सहुलियत नपाएको बताए । भ्रमण टोलीले हेटौंडा १८ स्थित पर्यटकीय स्थल गुम्बा डाँडाको पनि भ्रमण गरेका थिए ।
जिल्ला युवा समिति मकवानपुरको संयोजनमा भ्रमण टोलीलाई युवा उद्यमीहरुसँग अन्तरक्रिया तथा अवलोकन भ्रमणको ब्यवस्था मिलाइएको हो । समितिका अध्यक्ष सन्तोष चौँलागाईले भ्रमणले फरक फरक क्षेत्रमा बसेर उद्यम गरिरहेका युवाहरुबीच अनुभव आदनप्रदान गर्ने अवसर मिलेको बताए । राष्ट्रिय युवा परिषदका उप सचिव ध्रुवराज पोख्रेलको नेतृत्वमा दुई दर्जन युवाहरु अनुभव साटासाट गर्न हेटौंडा आएका थिए ।