भूकम्प पीडितको गुनासो,प्राविधिक ढिलो आए अनुदान कसरी लिने ?

गुगलपाटी संवाददाता
२१ बैशाख २०७५ ०८:४२

बिवश अधिकारी,नामटार, २१ बैशाख/मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारका भूकम्प प्रभावित क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचारका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । ट्रान्स्परेन्सी ईन्टरनेशनल नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा कार्यक्रम भएको हो ।
सार्वजनिक सुनुवाईमा नामटार–९ का गणेश बहादुर प्रजाले प्राविधिक गाउँ आउनु भन्दा पहिले नै घर बनाएको तर घरमा चुली राखेको भएर सम्झौता गर्न नसकेको गुनासो गर्नुभयो । “गाउँमा प्राविधिक समयमै आएनन्, आफ्नै हिसाबले घर बनाईयो, प्राविधिक रुपमा अन्य कुरा मिलेको भए तापनि चुलि राखेको कारण मापदण्ड भित्र परेन”, उहाँले दुखेसो गर्नुभयो । त्यस्तै कैलाश–९ का भुवन सिंह घलानले सरकारले दिने भनेको सहुलियत ऋणको कुरा के हो भनी प्रश्न गर्नुभयो । घलानले भन्नुभयो, “बैंकले दिँदैनौं भन्छ । पत्रपत्रिका, रेडियो आदि सञ्चार माध्यममा सहुलियत ऋणको कुरा सुनिन्छ । सरकारले जनता झुक्याउने काम गरेको हो कि के हो ? बुझ्न सकिएन ।”

नामटारका गणेश थोकरले समयमा किस्ता प्राप्त गर्न नसकेको समस्या बताउनुभयो । पहिलो किस्ता ल्याएर घर बनाइसक्दा समेत दोस्रो र तेस्रो किस्ता प्राप्त गर्न नसकेको उहाँ बताउनुहुन्छ । “गत पुस २५ गते नै दोस्रो किस्ताका लागि सिफारिस भएको हो, घर बनाएर सकिसक्यो अहिलेसम्म पूरै अनुदान रकम प्राप्त गर्न सकेको छैन”, उहाँले भन्नुभयो । मकवानपुर जिल्लामा भूकम्पपछिको पुनर्निर्माणमा सदाचार र भूकम्प प्रभावितलाई पुनस्र्थापनामा भएका पहलका विषयमा जानकारी समेत गराइएको थियो । कैलाश गाउँपालिकाको नामटार क्षेत्रमा भूकम्बाट प्रभावित भई पूर्णक्षतिको सूचिमा रहेका ७ सय ९० मध्ये ४ सय ४२ ले मात्रै अनुदान सम्झौता गरेका छन् । ती मध्ये पनि करीब ४ सयले मात्र पुनर्निर्माणका लागि पहिलो किस्ता वापतको अनुदान रकम प्राप्त गरेको जानकारी दिईएको छ । ३ वर्ष बितिसक्दा समेत धेरै भूकम्प प्रभावितहरुले अनुदान सम्झौता नै गर्न सकेका छैनन् भने अनुदान सम्झौता भएका मध्ये पनि धेरै पहिलो र दोस्रो किस्ता प्राप्त गर्ने पीडितको संख्या न्यून छ ।

भूकम्पले क्षति पु¥याएको ३ वर्ष पूरा भईसकेको छ । सरकारले दिने अनुदान र किस्ताका बारेमा प्रभावित अनविज्ञ छन् । अनुदान प्राप्त गर्ने प्रक्रियाका बारेमा कति भूकम्प प्रभावितलाई अझै पनि थाहा छैन, सरकारले सुचना प्रबाहमा पनि ध्यान दिनुपर्ने नाटारका चन्द्रबहादुर रुम्बाको भनाई छ । रुम्बाले पहिलो किस्ता पाउनेहरुले अर्को स्थानमा घर बनाउन पाउने, नपाउने प्रश्न गर्नुभयो । सरकारले दिएको अनुदानले पुरानो भत्केको घर सङ्याल्उनै पुग्दैन । कसरी नयाँ घर बनाउने उहाँले भन्नुभयो । अर्का पीडित पर्शुराम बर्तौलाले घर नभत्किएकाहरु पनि लाभग्राहिको सुचिमा परेको भन्दै उनीहरुले रकम फिर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि स्थानीय सरकाले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी भूकम्प प्रभावित रामलाल थोकरले गुनासो व्यवस्थापनमा सरकाले ढिलाई गरेकोमा बताउनुभयो ।

कार्यक्रममा भूकम्प प्रभावितहरुको समस्या सम्बन्धी प्रश्नहरुको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना इकाईका अन्जय कँडेलले जवाफ दिनुभएको थियो । उहाँले एउटै पुर्जामा घर बनाउनका लागि वडा कार्यालयबाट अंश बन्डाको सिफारिस भई आएमा सम्झौता गर्न सकिने बताउनुभयो । सहुलियत ऋणको विषयमा बैंकलाई दवाव दिन नसकिने तर मापदण्ड पूरा गरेमा ऋण दिनुपर्ने कँडेलले बताउनुभएको छ । “३ लाखमा घर बन्ने पनि होईन, सरकारले त प्रभावितलाई सहयोग गरेको हो”, उहाँले भन्नुभयो । पहिलो किस्ता अनुदान रकम लिने भूकम्प प्रभावित लाभग्राहीहरुले घर नबनाए रकम फिर्ता गर्नुपर्ने स्पष्ट पार्नुभयो । मकवानपुरमा अहिलेसम्म ६ जनाले रकम फिर्ता गरिसकेको बताइएको छ ।

कैलाश गाउँपालिका–९ का वडाध्यक्ष सुमन लटौलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुकुमाया थिङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भूकम्प प्राधिकरणका अन्जय कँडेल, कैलाश गाउँपालिका–९ का वडा सचिव रामचन्द्र सिवाकोटी, प्राविधिक वीरेन्द्र सेट्टी तथा ट्रन्सपरेन्सी ईन्टरनेशनलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

समृद्ध समाज दैनिकबाट