मकवानपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
गुगलपाटी संवाददातामकवानपुर पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडामा एक कार्यक्रमका बीच हेटौंडामा मकवानपुरलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले घोषणालाई व्यवहारमा उतार्न सबै लाग्नुपर्ने बताए । मकवानपुरमा पूर्ण खोप अभियान २०७२ सालबाट सुरु भएको थियो । थाहा नगरपालिकाबाट सुरु भएको पूर्ण खोप घोषणा कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले २०७५ जेठमा घोषणा गरेसंगै सबै स्थानीय तहमा घोषणा सकिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकले मकवानपुरका सात हजार एक जना १५ महिना मुनिका बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका सात हजार एकसय ८३ जना बालबालिकाले पूर्ण रुपमा खोप लगाएको सुनिश्चितता पश्चात् जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताए । देशभर रहेका ७७ जिल्लामध्ये पूर्ण खोप सुनिश्चित गर्नेमा मकवानपुर ४६ औं जिल्ला बनेको उनले बताए ।