मालपोत कार्यालय हाताभित्र बैंकको व्यवस्था गरिदिन माग

गुगलपाटी संवाददाता
१९ श्रावण २०७५ ०९:३८

मकवानपुर जिल्ला मालपोत कार्यालय हाताभित्र बैंकको व्यवस्था गरिदिन माग गरिएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्यसमिति मकवानपुरले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला मालपोत कार्यालय मकवानपुर हेटौंडाका प्रमुख मुक्तिनारायण भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै मालपोत कार्यालयमा आर्थिक कारोबार बढ्दो अवस्थामा रहेको कारण तत्काल बैंकको व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।
मालपोत कार्यालयमा रजिष्ट्रेशन पारित गर्दा लाग्ने राजस्व दस्तुर बापत् दशहजार भन्दा बढी राजस्व बैंक खातामा रकम जम्मा गरी भौचर व्यवस्था गर्नुपर्ने भएकाले उक्त रकम जम्मा गरी भौचर लिन जाने नेपाल बैंक र मालपोत कार्यालयबीच दुरी टाढा भएकाले सेवाग्राहीलाई समस्या परेको भन्दै तत्काल नेपाल बैंकको काउन्टर अथवा बैंकको शाखाको व्यवस्था गरिदिन आग्रह गरेका हुन् । ‘मालपोत कार्यालय हाताभित्र बैंक काउण्टर स्थापना हुँदाका बखत दैनिक सेवाग्राहीको कार्य सहज, सरल, चुस्तदुरुस्त हुने हुँदा बैंकिङ काउन्टर सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका हौं’, एसोसिएसन उपाध्यक्ष पूर्णप्रसाद अर्यालले भने ।
‘नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन सुशासन सदाचार निमित्त सदैव पेशागत मर्यादामा रहँदैको आएको विदित्तै छ । मालपोत कार्यालयले सेवाग्राहीलाई दिने सुविधाअन्तर्गत् बैंक काउन्टर समेत खोजी सहज र सरल बनाउनका निमित्त हामीले ध्यानाकर्षण गराएका हौं’, एसोसिएसन अध्यक्ष नारायण थोकरद्वारा जारी ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पौडेलले यस समस्याप्रति आफू परिचित रहेको बताउँदै यस विषयमा आफूले पहल गर्ने प्रतिबद्धता जनाए । ‘म हेटौंडाबासी भएकाले यहाँको सवै समस्याप्रति जानकार रहेको छु । यहाँको सबै समस्या समाधान गर्ने पहल म गर्नेछु’,  मुख्यमन्त्री पौडेलले ज्ञापन पत्र बुझ्दै भने ।