पीडितको घाउमा मलमपट्टी लगाउँदै जनप्रतिनिधि इन्द्र
कृष्णउदास खनाल गोरखागत फागुन १२ गते गोर्खाको हंसपुरका कपिल अधिकारीका लागि ठूलो दशाको दिन बन्न पुग्यो । घर बनाउनका लागि जंगलमा रुख काट्न गएका बेला उनले काटेको रुख उनैमाथि आएर बज्रियो अनि शुरु भयो कपिलको दुःखका दिन ।
भरतपुर स्थित जिल्ला अस्पतालमा उपचार गराइरहेका कपिलका लागि अहिले कसैले एक रुपैयाँ नै सहयोग गरेपनि त्यो एकलाख बढी सहयोग गरे झैं भइरहेको छ । मेरुदण्डको गहिरो चोट लागेका कारण उनी अहिले थला परेका छन् । अस्पतालको शैयामा उनी आफ्नो पीडादायी दिनहरु ब्यतित गरिरहेका छन् । नेपाल समाचारपत्रमा उनको बिषयमा समाचार प्रकाशित भएपछि सहयोगी मनहरुले हात फलाएका छन् ।
काठमाडौंका राजकुमार मैनालीको समूहले कपिललाई सहयोग गरे लगत्तै गोर्खाकै बुद्धसिंहकी स्थानीय तर हंसपुर वडाकी सदस्य इन्द्र गुरुंग अहिले कपिलको सहयोगका लागि सहयोगी हात खोज्दै भौंतारी रहेकी छन् । उनले हालसम्म्म २५ हजार भन्दा बढी सहयोग रकम संकलन गरेर पीडित अधिकारीकी धर्मपत्नी शान्तालाई बुझाएकी छिन् । एक त गाउँघरको दाजु त्यसमाथि पनि बिपद् परेको बेला आफूले कर्तब्य मात्रै निर्वाह गरेको उनी बताउछिन् । जनप्रतिनिधिको हैसियतले पनि जनताको पीर बेदनामा साथ दिनु आफ्नो दायित्व भएको उनी बताउछिन् ।
२०७४ साल बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गुरुंग नेपाली कांग्रेसका तर्फबाट सदस्यमा बिजयी भएकी हुन् । कपिल पनि उनकै गाउँका हुन्। हंसपुरको साबिकको वडा नम्बर ८का उनी अहिले कपिलको सहयोगका लागि जुटेकी छिन् । कपिलले भने आफ्नो फेसबुक पेज मार्फत सबैलाई पुनः सहयोगको अपील गरेका छन् । आफू जीवन मरणको दोसांधमा रहेको भन्दै उनले शुभचिन्तक र सहयोगी मनको सहयोगबाट मात्रै आाफू जीवित हुने आश रहेको बताएका छन् ।कपिलको उपचारमा संलग्न चिकित्सकहरुले भने उनको मेरुदण्डमा गहिरो चोट लागेका कारण उनको झांघ भन्दा तलको भाग अझै कहेी बर्ष चल्न नसक्ने बताएका छन् । उनको सेवाका लागि पत्नी शान्ता दिनरात खटेकी छन् ।