फ्लोरिडामा सामुद्रिक आँधी माइकलको बितन्डा

गुगलपाटी संवाददाता अरेन्ज काउन्टी
२६ आश्विन २०७५ ०४:४७

सामुद्रिक आँधी माइकल अमेरिकाको फ्लोरिडा राज्यको तटमा प्रवेश गरेको छ। यो आँधी खतरा श्रेणी ४ मा पुगेको छ, अर्थात् यो अत्यधिक खतरनाक आँधीको दर्जामा परेको छ। नेसनल हरिकेन सेन्टरअनुसार बुधबार अपराह्न उक्त आँधीले फ्लोरिडाको मेक्सिकोबीचबाट प्रवेश गरेको हो । फ्लोरिडाको गभर्नर रिक स्कटले यसलाई अकल्पनीय विनासको चेतावनी भएको बताए। यस आँधीलाई १ सय वर्षमा सबैभन्दा नराम्रो तुफान भएको उनले बताए।

मध्य अमेरिकामा गत सप्ताहका अन्त्यतिर आँधीबेहेरीसहितको भीषण वर्षा र बाढीबाट १३ जनाको मृत्यु भएको जनाइएको छ। यो आँधी २ सय ५० किलोमिटर प्रतिघन्टाको वेगले अगाडि बढीरहेको छ। फ्लोरिडामा हजारौं नागरिकलाई बस्दै आएको ठाउँ खाली गर्न भनिएको थियो। तर कयौं अझै त्यहाँबाट निस्कन पाएका छैनन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरु अब निस्कन सजिलो नभएको बताएका छन्। उनले भने– ‘उनीहरुमध्ये केहीलाई त्यो ठाउँ छोड्न त्यति सजिलो छैन। केही इलाकामा अत्यन्त गरिब छन्। बिना धन कुनै पनि व्यक्तिका लागि ठाउँ छोडेर सुरक्षित स्थान जान सहज हुँदैन। हामीले बसहरु पठाएका छौं। त्यहाँका बासिन्दालाई निकाल्नका लागि हामी धेरै प्रकारले प्रयास गरिरहेका छौंं।’ माइकल तुफान अमेरिकाको पूर्वी तटमा तीव्र गतिमा बढ्नेछ र ती इलाकामा भीषण वर्षा गराउनेछ। यो त्यही इलाका हो जुन गत महिना आएको सामुद्रिक आँधी फोरेन्सको विध्वंशबाट अहिलेसम्म पनि सामान्य हुन सकेको छैन।(एजेन्सी)