स्थानीय पत्रपत्रिकाः हेटौंडामा बालिका बलात्कृत, तीन महिनामा ७ वटा बलात्कारको घटना
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।
आजको हेटौंडा सन्देश दैनिकले हेटौंडामा १५ वर्षीया किशोरी बलात्कृत भएको समाचारलाई प्रमुख समाचार बनाएर छापेको छ । होटलमा लगेर एक युवकले बलात्कार गरेको भन्दै १५ वर्षीया एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । साथी बनाएर होटलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ ।
जिल्ला प्रहरीले हेटौंडा–१ का ३० वर्षीय कमलराज गिरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । हेटौंडा–१० स्थित मध्यमाञ्चल गेष्ट हाउसमा बोलाएर आफूलाई बलात्कार गरेको बालिकाको भनाइ छ । यसैबीच मकवानपुरमा ३ महिनाको अवधिमा ७ वटा बलात्कारको घटना भएका छन् ।
जसमा २ वटा करणी उद्योग र ५ वटा बलात्कार भएका छन् । सबै मुद्दामा पीडक र पीडित १० देखि २० वर्ष उमेर समूहको रहेको प्रहरीले जनाएको छ । आजको हेटौंडा सन्देशले समाचार छापेको छ ।
त्यस्तै आजको साझाकुरा दैनिकले दशैंमा यात्रुमाथिको ठगी नरोकिएको समाचार छापेको छ । बल्खुबाट टाटासुमो चढेर हेटौंडा चौकीटोलमा ओर्लिएका मनहरी गाउँपालिकाका रमेश सुबेदीले अघिल्ला वर्षहरुकै नियती भोग्नु परेको गुनासो गर्दै थिए ।
काठमाडौंबाट ७ सय रुपैयाँ तिरी ४ सय ५० मात्र उल्लेखित टिकट बोकेर हेटौंडा ओर्लिएका सुबेदीले बाटोमा कसैलाई गुनासो गर्ने ठाउँ भेटेनन् । चौकीटोलस्थित सुमो पार्कमा भेटिएका सुबेदीले गुनासो गर्दै भने ‘दशैंमा घर आउँदा र जाँदा हरेक वर्ष ठगिनुपर्छ, यसरी बढी भाडा लिएर ठग्नेलाई कसैले पनि केही गर्न सक्दैन कि के हो ?’
बाटोमा कतै प्रहरी भेटिए गुनासो पोख्ने सोच बनाएका उनले कतै कसैलाई भन्ने ठाउँ नपाएपछि निराश हुँदै फर्किएका रहेछन् । रमेश एउटा प्रतिनिधि पात्र मात्र हुन् । यसरी काठमाडौंबाट दशैंमा घर फर्कने यात्रुहरु भाडामा ठगिने गरेको घटना पुरानो हैन । हरेक वर्ष प्रहरी प्रशासनले यात्रु ठगी गर्नेविरुद्ध कदम चाले पनि त्यो सफल हुन भने सकेको छैन ।
चाडवाडमा यात्रा गर्दा यात्रुलाई पर्ने विभिन्न समस्या समाधानको लागि भन्दै हेटौंडा बसपार्क र चौकीटोलस्थित सुमो पार्कमा प्रशासनले नागरिक सहायता कक्ष पनि राखेका छ । तर, कक्षले प्रभावकारी काम गर्न सकेको छैन ।
त्यस्तै आजको समृद्ध समाज दैनिकले हेटौंडा अस्पतालमा ल्याप्रोसकोपी, इन्डोस्कोपी र क्लोनोकोपी सेवाको परीक्षण गरिएको समाचार छापेको छ ।
प्रदेश दैनिकले चाडवाडको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरुमा प्रदेशको राजधानीको चर्चा आएको समाचार छापेको छ ।
हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ