स्थानीय पत्रपत्रिकाः हेटौंडामा एकसयवटा उद्योग स्थापना हुँदै
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई उठान गरेका छन् ।
आजको साझाकुरा दैनिकले हटौंडा–१४ मयुरधापमा स्थापना हुन लागेको नयाँ औद्योगिक क्षेत्रमा एकसयभन्दा बढी उद्योग स्थापना हुने समाचारलाई प्रमुखताका साथ छापेको छ । मयुरधापमा स्थापना गरेको नयाँ औद्योगिक क्षेत्रभित्र दुईवर्ष भित्रमा नयाँ उद्योग सञ्चालन कार्यको सुरुवात हुने दावी समेत गरिएको छ । नयाँ औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका कार्यहरु गर्न कम्तिमा २ वर्ष लाग्न सक्ने र नयाँ औद्योगिक क्षेत्रमा सय वटा उद्योग स्थापना हुने अनुमान भर्खरै औद्योगिक क्षेत्र सञ्चालनका लागि स्थापना गरिएको मयुरधाप कालापानी औद्योगिक क्षेत्र परियोजना कार्यालयले जनाएको छ ।
यस कार्यालयमार्फत् गुरु योजना बमोजिम नयाँ औद्योगिक क्षेत्र निर्माणका विभिन्न भौतिक पूर्वाधारको विकास, जग्गा मिलाउने, डीपीआर तयार पार्ने तथा उद्योग दर्ता गर्ने कार्यको सुरुवात हुनेछ । औद्योगिक क्षेत्र तयार गर्नका लागि करिब सात अर्ब ५० करोड रुपियाँ लाग्ने अनुमान समेत गरिएको छ ।
आजको हेटौंडा सन्देश दैनिकले हेटौंडाको चारैतर्फ सडक थपिँदै गरेको समाचार छापेको छ । प्रदेश राजधानी हेटौंडाबाट सार्ने चर्चा चलिरहँदा सडकको विस्तारले राजधानी टिकाइराख्न टेवा पुग्ने अपेक्षा पनि गरिएको छ ।
समृद्ध समाज दैनिकले प्रदेश सरकार र लगानीबोर्डबीच छलफल भएको समाचार पहिलो पृष्ठमा छापेको छ । ३ नम्बर प्रदेश सरकारले प्रदेशका योजनाहरुका विषयमा लगानी बोर्डसँग छलफल गरेको छ । छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले योजना सुरु गर्न बोर्डको तत्काल सहयोग आवश्यक रहेको बताए ।
सुपथ मूल्य पसलमा चिनी बिक्री नभएको समाचार आजको प्रदेश दैनिकले मुख्य समाचार बनाएर छापेको छ । सरकारले चिनीको मूल्य निर्धारण नगर्दा हेटौंडाको खोपेगल्लीमा असोज १५ गतेदेखि साल्ट ट्रेडिङले सञ्चालन गरिरहेको सुपथ मूल्य पसलमा चिनी भने बिक्री भएको छैन । चिनी स्टक भए पनि मूल्य निर्धारण नहुँदा बिक्री गर्न नपाइएको साल्ट ट्रेडिङको भनाइ छ ।
हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ