मिस नेपालको आयोजनामा चेपाङ गाउँमा स्वास्थ्य शिविर

गुगलपाटी संवाददाता मकवानपुर,९ असोज
९ कार्तिक २०७५ १३:२६

मिस नेपाल २०१८ शृङ्खला खतिवडाको पहलमा मकवानपुरको कैलाश गाउँपालिका ७ मा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुई सय ७० जनाले स्वास्थ्य परिक्षण गराएको शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो । शिविरमा भरतपुर आँखा अस्पतालकी डा. पुष्पा गिरी, चुरेहिल अस्पतालका डा. सुन्दर श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका डा. राघवेन्द्र ठाकुर लगायतको स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।


खतिवडाको पहलमा भएको स्वास्थ्य शिविरमा भरतपुर आँखा अस्पताल, मकवानपुर सहकारी अस्पताल, चुरेहिल अस्पताल हेटौंडा र लायन्स क्लव अफ नारायणी मल हेटौंडाले सहयोग गरेको थियो ।
कलाकारिताको रंगिन दुनिया बाहिर समाजसेवामा क्रियाशील खतिवडाले ताम्लाङमै करिब ५५ लाख रुपैयाँको लागतमा स्वाथ्य चौकी भवन निर्माण गरिरहेकी छिन् । उनी आफैले बिभिन्न क्षेत्रबाट सहयोग जुटाएर भवन निर्माण थालेकी हुन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी बजारबाट करिब सात घण्टा पैदल दुरीमा रहेको ताम्लाङमा स्वास्थ्य चौकी निर्माणमा जुटेकी मिस नेपाल खतिवडाले समाजसेवालाई निरन्तरता दिने बताईन् ।


आर्किटेक्टको विद्यार्थी भएकाले उक्त पेशामै अघि बढ्ने सोचमा रहेकी खतिवडा आफ्नो पृष्ठभूमि फरक रहेकाले कलाकारिता रोजाईमा नपरेको बताउँछिन् ।