स्थानीय पत्रपत्रिकाः प्रदेश ३ को राजधानीको टुङ्गो तिहारपछि

गुगलपाटी संवाददाता
१२ कार्तिक २०७५ ०२:०२

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्राथमिकताका साथ छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले स्थानीयको अवरोधको कारण प्रशारण लाइन निर्माणमा ढिलाई भइरहेको समाचार छापेको छ ।

पाँच वर्षअघि ठेक्का सम्झौता भएको हेटौंडा– सुनसरी प्रसारण लाइनको निर्माणका लागि सरकारले तदारुकता देखाएको छ । २०१३ फेब्रुअरी ३ मा ठेक्का सम्झौता भएको हेटौंडाबाट सुरु हुने ४ सय केभी क्षमताको प्रशारण लाइन निर्माणमा स्थानीयले अवरोध गर्दा ढिलाई भएको हो ।

आजको साझाकुरा दैनिकले एक महिनाभित्र ३ नम्बर प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ सम्बन्धी प्रसङ्गलाई पहिलो पृष्ठमा छापेको छ ।

चितवनमा आइतबार भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तिहारपछि प्रदेशको नाम र राजधानी टुङ्गिने बताए । तिहारलगतै बस्ने प्रदेशसभाले नाम र राजधानी टुङ्गो लगाउने तयारी भएको उनले बताए ।

प्रदेशको नाम र राजधानी टुङ्ग्याउन गाह्रो नभएको भन्दै उनले आफूहरुले नै हतार नगरेको बताए । त्यस्तै त्रिभुवन राजपथकोे हेटौंडा–पालुङ सडक खण्डको मर्मत सुरु भएको समाचार पनि साझाकुरामा छापिएको छ ,

त्यस्तै आजको समृद्ध समाज दैनिक र प्रदेश दैनिकले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएको समाचार छापेको छ । हेटौंडामा आइतबार एक कार्यक्रमको बीच समुदाय प्रहरी साझेदारी कार्यक्रमको सुरुवात गरिएको हो । ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले सरकारले सबै काम गर्न नसक्ने भन्दै नागरिकको साथको पनि महत्व भएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको बताए ।

हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ