रिलायबलको कोरियन भाषा प्रशिक्षण केन्द्र स्कुलरोडमा पनि
हेटौंडा, १२ कात्तिकहेटौंडाको पहिलो कोरियन भाषा प्रशिक्षण केन्द्र रिलायबल ल्याङ्वेज सेन्टरले नयाँ भाषा प्रशिक्षण केन्द्र थप गरेको छ । टिसिएनरोडमा रहेको ल्याङ्वेज सेन्टरले सोमबार हेटौंडा–४ स्थित ग्रिन हाउसबाट पनि कक्षा सञ्चालनमा ल्याएको हो ।
हेटौंडा उपमहानगरपालिकाका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले रिबन काटेर भाषा प्रशिक्षण केन्द्रको उद्घाटन गरेका हुन् । कोरियन भाषा प्रशिक्षण कक्षा उद्घाटन गरेपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सिग्देलले वैदेशिक रोजगारमा गएका युवाहरुले पठाएकै रेमिट्यान्सले देश चलेको भन्दै युवाहरुको योगदानको कदर गरे । हेटौंडामै पहिलो भाषा प्रशिक्षण केन्द्रको रुपमा स्थापित भई धेरैलाई वैदेशिक रोजगारीमा पठाउन सफल भएको भन्दै उनले रिलायबल ल्याङ्वेज सेन्टरको प्रशंसा गरे ।
कार्यक्रममा ल्याङ्वेज सेन्टरका सञ्चालक तथा प्रमुख प्रशिक्षक किशोर डंगोलले सन् २००७ मा स्थापना भएको भाषा प्रशक्षिण केन्द्रले हालसम्म २ हजार १ सय जनाभन्दा बढी विद्यार्थीलाई कोरियन भाषा अध्यापन गराएको जानकारी दिए । हालसम्म आफ्नो भाषा प्रशशिक्षण केन्द्रमा अध्ययन गरेका ६ सय जनाभन्दा बढी कोरिया गइसकेको उनले बताए । आफूले अध्यापन गराएका विद्यार्थीहरु कोरियाबाट फर्किएर हेटौंडामा अन्य भाषा प्रशिक्षण केन्द्रसमेत सञ्चालनमा ल्याएको भन्दै उनले खुसी व्यक्त गरे ।
हेटौंडा–१ नम्बर वडाका अध्यक्ष सविन न्यौपानेले रोजगारीको आकर्षक गन्तव्य कोरियामा कामदार पठाउनको लागि भाषा प्रशिक्षण दिएर योगदान दिएको भन्दै ल्याङ्वेज सेन्टरप्रति आभार व्यक्त गरे । साथै विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न पनि उनले आग्रह गरे । कोरियामा सिकेर आएको सीपको नेपालमा अधिकतम उपयोग गरी देशमै केही महत्वपूर्ण काम गर्नुपर्नेमा पनि उनको जोड थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कृष्णप्रसाद ढुङ्गाना, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।