स्थानीय पत्रपत्रिकाः प्रदेशका मन्त्रीहरु उद्घाटनमै व्यस्त, कानुन निर्माण अस्तव्यस्त
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजका हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशका मन्त्री तथा मुख्यमन्त्री कार्यक्रम उद्घाटनमै व्यस्त भएर कानुन निर्माणमा ढिलाई भइरहेको समाचार छापेको छ । कानुन निर्माणमा ढिलाई भएकोमा सर्वत्र आलोचना सुरु भएके छ ।
दक्ष कर्मचारीको अभावको कारण पनि कानुन निर्माणमा समस्या भइरहेको कर्मचारीहरु बताउँछन् । कर्मचरी दरबन्दी अनुसार नहुँदा पनि अप्ठ्यारो भइरहेको छ । यसैबीचमा प्रदेश सरकार गठन भएको आठ महिनाको अवधिमा १९ वटा कानुन भने तयार भएको छ । मन्त्रीहरु भने कानुन नबनेको दोष कर्मचारीलाई दिँदै आफूहरु भने विभिन्न कार्यक्रम उद्घाटनमै रमाउने गरेका छन् ।
आजको साझाकुरा दैनिकले हेटौंडालाई काठमाडौं जोड्ने कान्तिलोकपथ आगामी वैशाखदेखि सञ्चालनमा आउने तयारी भएको समाचार छापेको छ । ८९ किलोमिटर हेटौंडा–सातदोबाटो कान्तिलोकपथको स्तरीकरणको काम अन्तिभ चरणमा पुगेको छ । दुई लेनको सडक स्तरीकरण पूरा भएपछि २ घण्टामै हेटौंडाबाट काठमाडौं पुग्न सकिने बताइएको छ ।
समृद्ध समाज दैनिकले प्रदेश राजधानी हेटौंडाबाट सार्न नदिने मकवानपुरका दलहरुबीच प्रतिवद्धता भएको समाचार पहिलो पृष्ठमा छापेको छ । जिल्ला समनव्य समितिको आयोजनामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधहरुले राजधानी हेटौंडा कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए ।
प्रदेश दैनिकले हेटौंडाको भित्री सडकमा पार्किङ निषेध गरिनु गलत भएको हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलको भनाइलाई अघिल्लो पृष्ठमा छापेको छ । मुख्य सडकमा पार्किङ निषेध गरिनु जायज भए पनि भित्री सडकमा पार्किङ निषेध गरी सर्वसाधारणलाई सास्ती दिएको उनको भनाइ छ । हेटौंडाको स्कुलरोड, खोपेगल्ली र अजरअमररोडलाई वन वे गरिनुपर्ने र पार्किङ निषेध हटाइनुपर्ने उनको भनाइ थियो ।
हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ