प्रदेश तीनको राजधानी हेटौंडा नै कायम हुने

गुगलपाटी संवाददाता हेटौंडा,१७ मंसिर
१७ मंसिर २०७५ १२:३१

तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले आज हेटौंडामा आयोजना गरेको सर्बदलीय बैठककमा प्रदेशसभा प्रतिनिधित्व गर्ने साझा विवेकशिल पार्टी बाहेक अन्य पार्टीका नेताहरुले हेटौंडाको लागि सहमति जनाएको स्थायी राजधानी सम्भाब्यता अध्ययन समितिका सभापति दिपक निरौलाले जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँ, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइ, राष्ट्रिय प्रजातान्त्र पार्टीका रिता माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का रिना गुरुङ र साझा बिवेकशिल पार्टीका शोभा शाक्य लगायत सहभागि थिए ।
‘साझा विवेशील पार्टी बाहेक अरु सबै हेटौंडाको पक्षमा उभिएकाले अब हेटौंडा नै राजधानी हुने सम्भावना रहेको छ’, बैठकमा सहभागि निरौलाले भने,‘तर त्यसको लागि पनि प्रक्रियामा भने जानुपर्छ ।’
स्थायी राजधानी सम्भाब्यता अध्ययन समितिले हेटौंडा सहित चितवन,नुवाकोट,काभ्रे र भक्तपुरको लागि राजधानी प्रस्ताव गरेको थियो । प्रक्रियामा जाँदा नियम अनुसार पाँच वटै स्थानको लागि मतदान हुने भएकाले कुनै पनि ठाउँको लागि दुई तिहाई पुग्ने सम्भावना नरहेको नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाले बताए । ‘त्यसो हुँदा पनि हेटौंडा नै राजधानी कायम रहन्छ’, उनले भने, ‘नेपाली काँग्रेसले हेटौंडाको पक्षमा सहमति जनाईसकेको छ तर नेकपाभित्रै कुरा नमिल्दा प्रक्रियामा जानु परेको हो ।’ प्रदेशसभभा बैठक पुस आठ गते बस्ने पनि उनले बताए ।
तीन नम्बर प्रदेशसभामा एकसय नौ जना सदस्य रहेका छन् । तीमध्ये ८० जना सत्तारुढ दल नेकपाका रहेका छन् ।