मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोलाई,श्रृृङ्खला खतिवडा अन्तिम १२ बाट बाहिरिन्

गुगलपाटी संवाददाता
२२ मंसिर २०७५ १५:२७

चीनको सान्यमा सम्पन्न मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ। ६८ औं मिस वर्ल्डको ताज मेक्सिकोका लागि भेनेसा पोन्स डी लिओनले पहिरिएकी हुन् । २६ वर्षिया मिस मेक्सिको भेनेसाले बेलारूस, यूगाण्डा, जमाइका  तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्।

अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै  मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८ को टाईटल जितिन्।

१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट भेनेसालार्इ उपाधि विजेता घोषणा गरेका थिए । निर्णायक मण्डलको मन जितेकी भेनेसा पेसाले मोडल हुन् । मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन् । त्यस्तै, फर्स्ट रनअप थाइल्याण्डकी सुन्दरी निकोलिन लिम्सनिकान भइन।

उत्कृष्ट ५ मा मिस वल्र्ड युरोपबाट बेलारुस, मिस वल्र्ड क्यारेबियनबाट जमैका, मिस वल्र्ड अमेरिकाजबाट मेक्सीको, मिस वल्र्ड अफ्रिकाबाट युगाण्डा र मिस वल्र्ड एसिया एण्ड ओसिआनियाबाट थाईल्याण्ड पर्न सफल भएका थिए ।

मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को ताज जित्ने सपना अधुरो बन्न पुगेको छ। मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी उनी अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भए पछि उनको यात्रामा विराम लागेको हो। तर उनी मिस वल्र्डमा हालसम्मकै सबैभन्दा बढी सफलता पाउने सुन्दरी भने हुन सफल भएकी छिन्।

मिस वर्ल्डको टप ५ को प्रतिस्पर्धामा शृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजित हुँदै टप १२ बाट बाहिरिएकी हुन्। उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उत्कृष्ट १२ मा परेपछि उनले आफ्नो घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन्। उनी दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी थिइन्। यसअघि सन् २०१३ मा इशानी श्रेष्ठ ब्युटी विथ पर्पस अवार्डसहित टप टेनमा पुग्न सफल भएकी छन्।

उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । मिस एसियाको उपाधि भने थाइल्याण्डकी सुन्दरीले जित्दै टप ५ मा प्रवेश गरेकी थिईन् । टप ३० मा रहेकी शृंखला एसिया महादिपबाट टप १२ मा पुगेकी थिईन् ।

शृङ्खला मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस सहित टप १२ मै सिमीत भईन्।  ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वर्ल्डको ताज जितेसरह भएको बताएकी थिइन् । धेरै नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रूपमा लिएको पाइयो। कैयौं प्रशंसकले उनले उपाधि नजिते पनि लाखौँ नेपालीको मन जितिसकेको प्रतिक्रिया दिएका थिए।

एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिएका थिए। यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो ।

युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए । विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा  ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका थिए ।  त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् ।