भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्य : जमरकट्टेल
गुगलपाटी संवाददाता हेटौंडा,२३ मंसिरतीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले तीन नम्बर प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउने लक्ष्य रहेको बताएका छन् । आज हेटौंडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यसको लागि प्रदेश सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता नीति लिएको बताए ।
कार्यक्रमम मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रमेश प्रसाद सिवाकोटी र सिनियर डिभिजन ईन्जिनियर भीमार्जुन पाण्डले तीन नम्बर प्रदेशमा भ्रष्टाचार बिरुद्धको अभियान र प्रदेश सरकारको कामबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म दुईसय ५५ वटा मुद्धा फस्र्यौट गरेको अख्तियार हेटौंडाकी प्रमुख हुमकला पाण्डेले बताइन् । यस अवधिमा विस्तृत अनुसन्धानतर्फ २३ वटा मुद्धा फस्र्यौट भएको र ३३ वटा बाँकी रहेको कार्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्यालय हेटौंडाले चालु अर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकमा नौ वटा सरकारी निकायमा स्टिङ्ग अप्रेशन गरेको जनाएको छ ।