इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा प्रदर्शन

गुगलपाटी संवाददाता इजरेल
१७ चैत्र २०७४ ११:४७

इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाको गोली प्रहारबाट विरोध प्रदर्शन गरिरहेका १५ जना प्यालेस्टायनी मारिएका हुन् ।प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गरेको गोली प्रहारबाट कम्तिमा १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका छन् । हजारौं प्रदर्शनकारीले छ हप्ताको विरोध प्रदर्शनको पहिलो दिन सीमा क्षेत्रमा मार्च पास गरेका थिए ।

प्यालेस्टायनीहरुको यो प्रदर्शन दक्षिणी गाजा क्षेत्रको खान युनिसको शहरगायत प्यालेस्टायन–इजरायल सीमासँग जोडिएका पाँच वटा क्षेत्रमा भएको हो । इजरायली सेनाले भने सीमा क्षेत्रमा दंगा भड्किएकाले त्यसलाई नियन्त्रण गर्न गोली चलाएको दाबी गरेको छ ।

उसले सीमा क्षेत्रमा टायर बाल्ने र पेट्रोल बम र ढुंगा प्रहार गरी दंगा फैलाउनेहरुलाई नियन्त्रण गर्न कारबाही गरिएको जनाएको हो । प्यालेस्टायनी राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा प्यालेस्टायनीहरुको संरक्षण गर्न माग गरेका छन् ।