स्थानीय पत्रपत्रिकाः इन्द्र बानियाँ धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा उभिए
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो पहिलो प्राथमिकताका साथ छापेका छन् । हेटौंडाबाट निस्कने ५ वटा दैनिक पत्रिकामध्ये हामीलाई ४ वटा पत्रिका प्राप्त भएको छ ।
पत्रिकाले नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको, स्थानीय तहका कर्मचारी आन्दोलित भएको, प्रदेशका १३ जिल्लामा एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको, हेटौंडा अस्पतालमा डाक्टरका समस्या भएकालगायतका समाचार पहिलो पृष्ठमा छापेका छन् ।
नेपाली काँग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता, पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यको पक्षमा हस्ताक्षर गरेको समाचार आजको प्रदेश दैनिकले छापेको छ । नेपाली काँग्रेसको काठमडौंमा जारी महासमित बैठकमा धर्मको मुद्दा प्रवेश गरी हस्ताक्षर संकलन सुरु भएको थियो ।
सोही क्रममा बानियाँले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने भन्दै हस्ताक्षर संकलन गरेका हुन् । हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार राजुराज जोशीले गरिरहेका छन् ।
त्यस्तै आजको साझाकुरा दैनिकले १३ जिल्लामा एक विद्यालय एक नर्स कार्याक्रम सुरु भएको समाचार छापेको छ । ३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले १३ जिल्लाका विद्यालयमा पाइल प्राजेक्टको रुपमा एक विद्यालय एक नर्स कार्यक्रम लागू गरेको छ ।
विद्यालयमा खटाइने नर्सले विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी जानकारी र चोटपटक तथा सामान्य उपचार तत्काल गर्नेछिन् । नर्सले विद्यार्थीको स्वास्थ्य तथा शारीरिक विकासमा भूमिका खेल्नेछन् ।
आजको हेटौंडा सन्देश दैनिकले हेटौंडा अस्पतालले डाक्टरको समस्या झेल्दै आएको समाचार लेखेको छ । दरबन्दी अनुसारको डाक्टर नहुँदा सेवाग्राहीले समस्या झेलिरहेका छन् । १४ जनाको दरबन्दी रहेकोमा हाल ९ जना मात्र छन् ।
समृद्ध समाज दैनिकले स्थानीय तहका कर्मचा आन्दोलित भएको समाचार छापेको छ । कर्मचारी समायोजन अध्यादेशको विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सोमबार मकवनपुरका सबै स्थानीय तहका कर्मचारीे काम ठप्प पारेर कार्यालयअघि धर्नामा बसेका हुन् ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ