दुवै सन्तान बौद्धिक अपाङ्ग, परिवारले पाएन साहारा
गुगलपाटी संवाददाताहेटौैंडा– उनी बोल्न सक्दिनन्, उमेरअनुसारको शारीरिक विकास पनि भएको छैन, उनको व्यवहार पनि सामान्य मानिसको भन्दा फरक छ । एउटा अँध्यारो कोठाभित्र रातदिन काट्नु उनको नियती बनको छ ।
वर्षौँदेखि कोठाभित्रै थुनिएर एउटा अँध्यारो जीवन गुजारिरहेकी उनी हुन् हेटौंडा–९ की २२ वर्षीया रचना अधिकारी । जन्मजातै छोरी सुस्तमनस्थिति भएपछि उनका बुबाआमाले उपचारको प्रयास पनि नगरेका होइनन् । महङ्गो स्वास्थ्य संस्थामा उपचार गराउन उनीहरुको पहुँच पुगेन । सामान्य स्वास्थ्य संस्थाले अस्थायी रुपमा ठिक हुने औषधि दिए तर, त्यो औषधि पनि नियमित खुवाउन नसक्दा रचनाले कैदीझैं एउटा कोठाभित्र थुनिएर जीवन गुजार्नुपरेको छ ।
रचना मात्र होइन, आमा मेनुका र बुबा रत्नप्रसाद अधिकारीको कोखबाट जन्मिएका बाँकी ३ वटै छोरीहरुमा सुस्त मनस्थितिको समस्या थियो । उनीहरुका चार छोरीहरुमध्ये अहिले दुई छोरीहरु मात्र जिवित छन् । जेठी रचना र कान्छी छोरी रोशिका सुस्त मनस्थितिको समस्यामा बाँचिरहेका छन् । कान्छी छोरी १२ वर्षकी भइन् । बोल्न र हिँडडुल गर्न भने सक्छिन् । औषधि सेवन गरिरहेकी छन् । उनको उमेरअनुसारको मानसिक विकास भएको छैन । केही अस्वभाविक गतिविधि गर्छिन् । दुई छोरीहरुको स्याहारसुसारमै आमा मेनुकाको दिन बित्छ । जेठीको तुलनामा कान्छीको अवस्था केही ठिक छ । जेठी रचनालाई भने खुवाउने, दिशापिसाब कोठाभित्रै गराउनुपर्ने अवस्था छ ।
छोरीहरुको उपचारको लागि उनीहरुले धेरैसँग सहयोगको लागि अपिल गरे तर, आजसम्म कतैबाट पनि कुनै सहयोग नपाएको आमा मेनुका बताउँछिन् । जेठी छोरी रचनाको अपाङ्गता परिचयत्र पाए पनि कान्छी छोरी रोशिकाको भने अझै अपाङ्गता परिचय पत्र बनेको छैन । हेटौंडा–९ मै रहेको दिव्यज्योति आधारभूत विद्यालयमा रोशिका कक्षा ४ मा पढिछन् । तर, उनलाई त्यहाँबाट बेलाबेला विद्यालयले नै निकालिदिने गरेको छ । अन्य विद्यार्थी भन्दा फरक स्वभाव भएकै कारण उनलाई साथीहरुले पनि राम्रो नजरले नहेर्ने र शिक्षकले पनि बेलाबेला निकालिदिने गरेको पीडा मेनुकाले सुनाइन् । ‘छोरीलाई पढाउन धेरै गाह्रो भइरहेको छ । सुस्त बच्चालाई पढाउन सक्दैनौं भनेर स्कुलले बेलाबेला निकाल्ने गर्छ, अस्ती भर्खर पनि स्कुलबाट निकालेपछि वडा अध्यक्षलाई भनेर फेरि स्कुल पठाउन थालेको छु ।’ मेनुकाले भनिन् ।
अपाङ्गसँग सम्बन्धित संघसंस्थाकोमा पुगेर कान्छी रोशिकालाई पढाउने व्यवस्था गरिदिन उनले धेरै प्रयास गरिन तर, सफल भइनन् । ‘सुस्तमनस्थितिका बच्चाहरुलाई पढाउने स्कुलमा पुगेर मेरो बच्चा राखेर पढाइदिन धेरै रोइकराई गरेँ तर, उनीहरुले राख्न मानेनन् ।’ मेनुकाले आँसु झार्दै भनिन् ।
दुःखमाथि दुःख
सबै बच्चाहरु सुस्त मनस्थितिको जन्मिएपछि रत्नप्रसाद र मेनुकाले सबैलाई उपचारको प्रयास गरे तर, माइली छोरीलाई बचाउन सकेनन् । दुईवर्षको उमेरमा माइली छोरी गुमाएका उनीहरुको साइली छोरीको रुपमा रिया अधिकारी जन्मिइन् । तर, उनलाई ६ वर्षकै उमेरमा माओवादी द्धन्द्धकालमा हत्या गरियो । प्रहरीको जागिरे रत्नप्रसादलाई जागिर छाड्न बारम्बार दबाब दिइरहेका तत्कालीन माओवादीले जागिर नछाडेको भन्दै छोरीको हत्या गरिदिएपछि उनको जीवनले नयाँ मोड लियो ।
पेन्सन हुन २१ महिना हुँदा रत्नप्रसादलाई जागिर छाड्नुपर्ने बाध्यता आइलाग्यो । प्रहरीको जागिर छाडेर उनी मलेसिया हानिए । मलेसियामा पैसा कमाउन नसकेपछि धेरै कष्ट भोगेर दुईवर्षपछि उनी घर फिरे । घरमा छोरीहरु सुस्तमनस्थितिको, कमाई पनि नभएपछि परिवारमा ऋण थपियो । ऋणमाथि ऋण थपिएपछि बारा जिल्ला जितपुर निवासी उनीहरुले चारवर्ष अघि जितपुरको घर जग्गा बेचेर ऋण तिरे र बाँकी बसेको पैसाले हेटौंडा–९ मा कच्ची घर किनेर बसाई सरे ।
हेटौंडा आएपछि पनि परिवारको अवस्था सुधार्न नसेकपछि आफन्तको सहयोगमा रत्नप्रसाद फेरि विदेशिए । तर, आफन्तले पनि उनलाई ठगे । तोकिएको तलब र काम नभएपछि रत्नप्रसाद केही महिनाअघि मात्र स्वदेश फर्किए । भर्खरै मात्र हेटौंडाको एउटा सेक्युरियटी कम्पनीमा जागिर सुरु गरेका रत्नप्रसादलाई सामान्य जागिरले चारजना परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता बढेको छ । आजको साझाकुरा दैनिकमा समाचार छ ।