भर्ना अभियानका अभिभावक मुख्यमन्त्री स्वीटर बाकेर विद्यालयमा
गुगलपाटी संवाददाताहेटौंडा–३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्यार्थी भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गरेका २ जना बालबालिकालाई ९ महिनापछि बिहीबार भेटघाट गरेका छन् । वैशाखमा चलाइएको भर्ना अभियानमा मुख्यमन्त्री आफैं अभिभावक बनेर दुई बालकको भर्ना गरेका थिए ।
बिहीबार उनी आफ्ना विद्यार्थीलाई जाडोमा लगाउने कपडा तथा स्टेशनरी सामाग्री बोकेर मकवानपुरको मनहरी पुगेका हुन् । पौडेलेले मनहरी गाउँपालिका–६ सुनाचुरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा ६ वर्षीया चेपाङ बालिका जेसिका प्रजा र ६ वर्षीय तामाङ बालक सञ्जित ब्लोनलाई एक कक्षामा भर्ना गरिदिएका थिए ।
भर्नाका क्रममा दुई बाल–बालिकाको अभिभावकको नाममा मुख्यमन्त्री डोरमणि पौडेलको नाम समेत उल्लेख गरिएको थियो । बिहीबार उनले दुई बालबालिकालाई स्विटर, ज्याकेट, कुर्था सुरुवाल तथा स्टेशनरी सामग्री प्रदान गरेका हुन् ।
सामग्री प्रदान गरेपश्चात उनेले बालबालिकाको स्वास्थ्य अवस्था तथा पारिवारिक अवस्थाको विषयमा पनि जानकारी लिएका थिए । विद्यालयभन्दा बाहिर रहेका २ बालबालिकालाई पढाएर उनीहरुको अभिभावकत्व ग्रहण गर्न पाउँदा खुशी लागेको मुख्यमन्त्री पौडेलले प्रतिक्रिया दिए ।
शिक्षा बिना मुलुक समृद्ध नहुने भन्दै बालबालिकाको शिक्षा पहिलो आवश्यकता भएको उनले बताए । संघीय सरकारको अभियानलाई साथ र सहयोग गर्न मुख्यमन्त्री पौडेलले आफ्नो प्रदेशमा पनि भर्ना अभियान चलाएका थिए ।