यस्ता दिलदार वडा अध्यक्षः व्यक्तिगत डेढ लाख खर्चिएर गरिदिए ६० परिवारको स्वास्थ्य बिमा

गुगलपाटी संवाददाता
८ पुष २०७५ ०२:५७

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष राजेश बानियाँले आफ्नै खर्चमा ६० घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् ।

हेटौंडा–५ स्थित राइटोलमा रहेका ६० घरपरिवारको बिमाकर्तामार्फत् बानियाँले निःशुल्क स्वास्थ्य बीमा गरिदिएका हुन् । बानियाँले ६० घरपरिवारको स्वास्थ्य बीमा बापत् एकलाख ५० हजार रुपियाँ खर्च भएको बताए । उनका अनुसार यसवडाको उक्त क्षेत्रमा आर्थिकरुपमा कमजोर रहेकाहरुलाई आफ्नो तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

त्यसक्षेत्रमा अधिकांश राईवस्ती रहेको छ । उनले स्थानीयलाई स्वास्थ्य बीमा कार्ड समेत प्रदान गरेका छन् । निर्वाचनको समयमा आफूले प्राप्त गर्ने सेवासुविधा जनताको विकासमा खर्च गर्ने प्रण गरेको बताउँदै उनले सोहीअनुसार आफूले काम गरिरहेको बताए । उनले सम्पूर्ण वडाबासीले स्वास्थ्य बीमा गर्नुपर्ने औंल्याउँदै त्यसका लागि आफूले पहल गर्ने
समेत बताए ।

बानियाँले यसअघि पनि आफ्नो पारिश्रमिकबापत्को रकम विभिन्न सामाजिक कार्यमा खर्चेका थिए । उनी नेपाली काँग्रेसको तर्फबाट त्यसवडामा निर्वाचित भएका हुन् । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले भाषण भन्दा पनि काम गर्ने वडा अध्यक्षको रुपमा बानियाँले आफ्ना छबि बनाएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले वडा अध्यक्ष वानियाँले निर्वाचनका बेला गरेको प्रतिवद्धता अनुसार काम गर्दै आएकामा धन्यबाद दिए । उनले स्वास्थ्य बीमाले स्थानियलाई राहत पुग्ने बताउँदै वडा अध्यक्ष बानियाँबाट अरु वडाका अध्यक्षहरुले पनि पाठ सिक्न जरुरी रहेको औंल्याए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता भीमसेन महत, नेपाल टे«ड युनियन काँग्रेस जिल्ला सभापति यम श्रेष्ठ, नेपाल तरुण दल नगर सभापति सुनिल गिरीलगायतको उपस्थिति रहेको थियो ।