काँग्रेस महासमिति बैठक : कार्यकर्ताको आँखामा छारो, प्रतिपक्षलाई गाली !

गुगलपाटी संवाददाता
९ पुष २०७५ १०:४८

काठमाडौँ– नयाँ ऊर्जा, नयाँ नीति र नयाँ कार्यदिशाको अपेक्षासहित मङ्सिर अन्तिम साता काठमाडौँ आएका काँग्रेसका देशभरका अगुवा कार्यकर्ताहरू ९ दिनसम्म काठमाडौँको चिसो खाएर फर्केका छन् । आशा र उत्साह बोकेर काठमाडौँ आएका उनीहरूले नयाँ ऊर्जा र नयाँ कार्यदिशाको सट्टा निराशा नै निराशाको पोको बोकेर फर्कनुपरेको गुनासो गरेका छन् ।

‘महासमितिमा जसरी मिहीन ढङ्गले राजनीतिक, आर्थिक र अन्य कार्यदिशामा छलफल हुनुपथ्र्यो, त्यो हुन सकेन । व्यवस्थापकीय कमजोरीका कारण त्यसो हुन नसके पनि गाउँगाउँमा सङ्गठन विस्तार गर्ने बाटो भने खोलिदिएको छ । यो सकारात्मक पाटो हो तर जुन अपेक्षा र आशा थियो त्यो पूरा हुन सकेन’ अर्घाखाँचीका महासमिति सदस्य लेखनाथ पोखरलेलले असन्तुष्टि जनाए ।

उनले भने, ‘महासमिति बैठक महाधिवेशनपछिको ठूलो उत्सव हो । जहाँ विगतमा भएका कमजोरीको विवेचना गर्दै आगामी दिनमा पार्टीले लिने कार्यदिशाका बारेमा छलफल हुनुपथ्र्याे, त्यो हुन सकेन ।’
महासमिति बैठकमा पार्टीको नीति, विचार र कार्यदिशाका बारेमा जति सघन र बृहत् छलफल हुनुपथ्र्यो, त्यो हुन नसकेकोमा पोखरेल मात्रै होइन अरू धेरै काँग्रेसका अगुवा कार्यकर्ताहरूको चित्त दुखाइ छ । तर पार्टी नेतृत्वले भने महासमिति बैठकको मुख्य उद्देश्य संविधानअनुसार पार्टीको विधानलाई नयाँ संरचनामा बदल्ने भएकाले त्यस्तो विधान पारित गर्नु नै ठूलो उपलब्धि भएको दाबी गरेको छ ।

‘पार्टीले संविधान बमोजिम नयाँ विधान पारित गरेको छ । यो नै सबैभन्दा ठूलो उपलब्धि हो । अब काँग्रेसको बाटोमा कम्युनिस्ट पार्टी पनि हिँड्न बाध्य हुनेछन् । अब हामी आफैभित्र झगडा गर्ने नभई सरकारका कमीजोरी औँल्याउने र गलत काम गरे सच्च्याउन दबाब दिनेछौँ’ महासमिति बैठक समापन सभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले भनेका थिए ।

तर काँग्रसका युवा नेता सुदर्शन आचार्य देउवाको यो भनाइ प्रतिपक्ष नेताको हैसियतमा सधैँ आउनुपर्ने भन्दै कुनै नयाँ विषय नभएको बताउँछन् । उनी भन्छन्– ‘कुनै पनि पार्टीको विधानले पार्टीको आन्तरिक जीवन पद्धति बसाल्न हो ।  त्यसकारण विधान परिमार्जन गर्नु बाध्यता नै थियो । तर विधान ल्याउँदा नेता कार्यकर्ताबीच जसरी व्यापक छलफल गर्दै उनीहरूको समेत भावना समेटेर पार्टीलाई पुनर्ताजगी र ऊर्जा दिनुपर्ने थियो, त्यो हुन सकेन । काँग्रेसले महासमितिको प्रहसन गर्यो तर हैसियत देखाउन सकेन ।’

आचार्यले त्यति मात्रै होइन, सरकारका गलत काम कारवाहीप्रति सजग गराउने कामसमेत प्रमुख प्रतिपक्षको भएकाले त्यो हैसियता देखाउन स्पष्ट कार्यदिशासमेत बनाउन नसकेको बताए । भने, ‘सरकार एकलौटी ढङ्गले हिँडिरहेको छ । उसका गलत कामहरूप्रति खबरदारी गर्ने प्रस्ताव त पारित भएको छ तर त्यसले सरकारका काम कारवाही सुध्रने देखिँदैन । यो विषयमा एजेन्डा नै बनाएर बहस र छलफल गर्न नसक्नु नै कमजोरी रह्यो । यसले गर्दा धेरै महासमिति सदस्यहरू निराश बन्न बाध्य भए ।’

‘नौ दिनसम्म काठमाडौँमा बसियो, नेताका भाषण सुनियो, ताली पिटियो फर्किइयो । खासै उपलब्धि भएन’, अर्का महासमिति सदस्य रमन थापाको भनाइ छ ।  सरकारमाथि झन्डै एक दर्जन आरोप लगाउँदै काँग्रेस महासमिति बैठक आइतबार सकिएको हो  । राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक र कानुनी व्यवस्थाका प्रावधान पालना गर्न उठाइएका विषयलाई उपेक्षा गर्दै सरकार अधिनायकवादी बाटोमा हिँडेको काँग्रेसको ठहर छ ।
काँग्रेसका आरोप र सुझाव

आरोप : 
१. अधिनायकवादी बन्यो, २. धर्म प्रचारमा सहयोगी, ३. सङ्घीय व्यवस्थामा उदासीन, ४. राष्ट्रियताको नारा लम्पसारवादमा परिणत, ५. संस्थागत भ्रष्टाचार बढ्यो, ६. राज्य संरचना पार्टीकरण, ७. कालोबजारी बढ्यो, ८. संंसद् छलेर अध्यादेश, ९. निर्मलालाई न्याय दिन असफल, १०. विपक्षीप्रति असहिष्णु र ११. रोजगारीको अन्योल ।

सुझावः 
१. देउवा सरकारका निर्णयलाई निरन्तरता, २. द्वन्द्वपीडितलाई न्याय र ३. विदेश गएकालाई मताधिकार दिन माग ।

‘आरोप र सुझाव सतही’
काँग्रेसका यी आरोप र सुझाव सतही भएको काँग्रेस निकट राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको निष्कर्ष छ ।

‘महासमितिका नाममा दस दिनसम्म काँग्रेसका अगुवा कार्यकर्ताहरू काठमाडौँ बसेर फर्के पनि उनीहरूले भविष्यको बाटो के हो भन्ने लान सकेनन् । व्यर्थमा सममय मात्रै खेर फाले । महासमितिबाट ऊर्जा लिएर फर्कनुपर्नेमा निराशा बोकेर फर्केका छन् । यसले काँग्रेस कार्यकर्ताको भावनामा कुनै परिवर्तन आउला र नेतृत्व पनि फरक ढङ्गले अघि बढ्ला भन्नेमा म विश्वास गर्दिनँ । कर्मकाण्डी पारामै महासमिति बैठक सकाइयो । यसले कुनै दिशा तय गर्ला भन्न सकिन्न । कार्यकर्ताको आँखामा छारो हाल्ने र प्रतिपक्षलाई गाली गर्नुलाई मात्रै उपलब्धि मान्न सकिन्न ।’

उपलब्धि मान्ने पनि छन्
धेरैजसो नेता कार्यकर्ताले महासमिति बैठक र बैठकले गरेका निर्णयलाई कर्मकाण्डीको संज्ञा दिए पनि काँग्रेस केन्द्रीय सदस्य शिव हुमागाईं भने महासमितिमा विधान मस्यौदादेखि आर्थिक राजनीतिक प्रतिवेदनमा व्यापक छलफल गरेर पार्टीलाई संविधान बमोजिम बदल्न सक्नु नै ठूलो उपलब्धि भएको दाबी गर्छन् । उनी भन्छन्– ऐतिहासिक विधान बनेको छ । विधानमा तल्लो तहका सुझावसमेत समेटिएको छ । तर, निर्णयसँगै कार्यान्वयनपक्ष पनि त्यतिकै दर्बिलो बनाउनु जरुरी छ । अक्षरस विधान कार्यान्वयन भए काँग्रेस बदलिन्छ ।’
स्रोतः रातोपाटी