फास्ट ट्रयाकको काममा स्थानीयको अवरोध, ५२ सवारीको चाबी खोसेर सेनालाई जिम्मा
गुगलपाटी संवाददाताहेटौंडा– काठमाडौं तराई जोड्ने द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ मा भैरहेको काममा स्थानीयले अवरोध गरेका छन् । उक्त खण्डबाट झरेको माटोले बस्ति प्रभावित भएको भन्दै स्थानीयले विहीबारबाट काम नै रोकेका हुन् ।
यसअघि पनि काममा अवरोध गरेपछि व्यवस्थित गर्ने प्रतिवद्धता जनाएकाले काम सुचारु भएको थियो । यो पटक भने अनिश्चितकालका लागि बन्द गरिएको स्थानीय अर्जुन खड्काले जानकारी दिए । बकैया वडा नम्बर ५ को तीनतले, मसाने, भडौरा र बुदुने क्षेत्रको ठूलो वस्ति उक्त कामबाट प्रभावित भइरहेको छ ।
विहीबार स्थानीयले फास्ट ट्«याकमा काम गरिरहेको ५२ वटा सवारी उपकरणहरुको चावी लिएर सेनालाई जिम्मा लगाएका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म काम सुरु हुन नदिने स्थानीयले बताएका छन् । फास्ट ट्«याकको माटोको कारण खोल्साहरु सुकेको र खोलामा पनि पानीको सतह निकै घटेको छ ।
बकैया–५ का वडा अध्यक्ष शेरमान घलानकै डोजर समेत फास्ट ट्«याकमा काम गरिरहेकोले गाउँपालिकाले केही पनि नगरेको स्थानीयको आरोप छ । स्थानीयले सेनासँगै ठेकेदार र गाउँपालिकासँग पनि आफूहरुको समस्या बताएको भन्दै सुनावाई नभएको गुनासो गरेका छन् ।