बकैया गाउँपालिकाले जित्यो बीपी कप फुटबलको उपाधि
गुगलपाटी संवाददाताहेटौंडा– थाहा नगरपालिकासंग ‘प्रोटेक्स’ मार्फत खेल जित्दै अघि बढेको बकैया गाउँपालिकाले प्रथम वीपी कपको उपाधि जितेको छ ।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा कांग्रेस हेटौंडा–४ नम्बर वडालाई २–० गोल अन्तरले हराउँदै बकैया विजयी भएको हो । यसअघिको खेलमा हार व्यहोरिसकेको अवस्थामा थाहा नगरपालिकाले जिल्ला बाहिरका खेलाडी खेलाएको भन्दै उजुरी दिएको बकैयाले अन्तत ः उपाधि नै जितेको हो ।
प्रथम भएको बकैयाले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा हेटौंडा–४ नम्बर वडाकाले २५ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि बकैयाका सुरेश थिङ ‘देउवा’ घोषित् भए । उत्कृष्ट फरवर्ड, डिफेण्डर र किपर क्रमश ः बकैयाकै भगत माझी, विकास वाइबा र विक्रम नेगी घोषित भए ।
उत्कृष्ट मिडफिल्डरको उपाधि भने ४ नम्बर वडाका भीम लामाले पाए । उनीहरुलाई नगद दुईहजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो । यस्तै एउटा हात नभएर पनि खेलमा सहभागी बकैयाका निर्मल दर्लामीलाई वीपी कप विशेष सम्मान प्रदान गरिएको थियो । उनलाई दर्शकबाट संकलित नगद १३ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजयी तथा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, आयोजक लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सविन भट्टाचार्यलगायतले पुरस्कार वितरण गरेका हुन् ।