साहित्यकार थापा अभिनन्दित, पत्रकार पाण्डेसहित ३ जना पुरस्कृत
गुगलपाटी संवाददाताहेटौंडा– आँचल साहित्य कला पुञ्ज हेटौंडाले मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन गरेको छ । शनिबार आँचलको वार्षिकोत्सव कार्यक्रमकाबीच थापालाई अभिननन्दन गरिएको हो ।
साथै अन्य तीनजनालाई पनि सम्मान गरिएको छ । लामो समयदेखि साहित्य साधनामा लागी मकवानपुरे तथा देशकै साहित्यिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै ७३ वर्षीय थापालाई दोसल्ला र सम्मानपत्रका साथ अभिनन्दन गरिएको हो ।
त्यसैगरी कार्यक्रमकैबीच मकवानपुरका बरिष्ठ पत्रकार कौशल पाण्डेलाई ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि मकवानपुरमा रही पत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै पाण्डेलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी साहित्यकार रुकु कार्कीलाई बालकुमारी–जगन्नाथ भेटवाल स्मृति पुरस्कार–२०७५ प्रदान गरिएको छ । नगद १० हजार १ राशीको पुरस्कार यसवर्ष कार्कीलाई प्रदान गरिएको हो ।
महाकाव्यकार बुनु लामिछानेलाई प्रतिभा पुरस्कार–२०७५ प्रदान गरिएको छ । नगद १० हजार एक राशीको पुरस्कार यसवर्ष लामिछानेलाई प्रदान गरिएको हो । ३ नम्बर प्रदेशका सांसद कुमारी मोक्तानले पुरस्कृत तथा अभिनन्दित व्यक्तित्वलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरेकी थिइन् ।
आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार ह्यग्रीव आचार्य, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, तुल्सी घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा श्रीराम अधिकारी, बगेकी गंगा, जनार्दन खनाललगायतले रचना बाचन पनि गरेका थिए । यसैबीच आँचलको अध्यक्षमा पुनः अप्सरा तिम्सिना चयन भएकी छन् । जसको उपाध्यक्षमा अनिता न्यौपाने, सचिव भावना सापकोटा, सहसचिव निरा शर्मा र कोषाध्यक्षमा सुभद्रा हुमागाईं चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा चण्डिका गौतम, बगेकी गंगा, सविता तिमल्सिना र अनिषा पुडासैनी रहेका छन् ।