थारु संस्कृति प्रदर्शनसहित मनाइयो माघी
गुगलपाटी संवाददाताहेटौंडा– मकवानपुरका थारु समुदायले पनि उल्लासका साथ माघी पर्व मनाएका छन् । हेटौंडामा प्रथम थारु तथा माघी महोत्सव आयोजना गरी मकवानपुरका थारु समुदायले आफ्नो पर्व मनाएका हुन् ।
हेटौंडाको बासुदेव सभागृहमा माघी महोत्सव आयोजना गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको मूल समारोह समिति संयोजक हरिलाल चौधरीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महोत्सवको उद्घाटन गरेका हुन् । उनले हरेक चाडपर्वलाई राज्यले समान रुपमा हेर्नुपर्ने धारणा राखेका थिए । पछिल्लो पिढीलाई आफ्नो धर्म, संस्कृति एवम् परम्पराको जानकारी दिन यस्ता जातीय महोत्सवले विशेष महत्व राख्ने उनको विश्वास थियो ।
महोत्सवमा थारु संस्कृतिको पहिचानका रुपमा रहेको थारु नाच, थारु जातिको इतिहास समेटिएका विषय, हस्तकला, थारु खानाका विशेष परिकार रहेको थारु कल्याणकारीसभा सचिव चन्द्रकान्त चौधरीले बताए । थारु समुदायले विशेष महत्वका साथ मनाउने गरेको माघी पर्वका दिन सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।
माघी महोत्सवमा मकवानपुरसहित छिमेकी जिल्लाका थारु समुदाय तथा अन्य समुदायका सर्वसाधारणहरुको घुइँचो लागेको थियो ।