चार करोड धरौटीमा छुटे विक्रम पाण्डे
गुगलपाटी संवाददाताविशेष अदालतले पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा रु चार करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले बुधबार पाण्डेलाई सो रकम धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको हो ।
विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठकाअनुसार पाण्डेलाई अदालतले बुधबार हाजिर हुन भनिएअनुसार पाण्डे हाजिर भएर बहसपछि ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
पाण्डेसहित २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेकोविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।
सो कन्स्ट्रक्सनको प्रमुख पाण्डेसहित तत्कालीन आयोजना प्रमुख सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धाँमी र प्रकाशबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो ।
रु दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० भ्रष्टाचार गरेको अभियोगमा आयोगले पाण्डेसँग सोही रकम बराबर विगोसहित दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।