वातावरण पनि जनताको हातमा सुम्पिनुपर्छ : मन्त्री नेपाल

जी.न्यौपाने हेटौँडा
४ माघ २०७५ १०:१३

३ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वातावरणलाई जनताको विषय बनाउनुपर्ने कुरा बताएका छन् । ‘जसरी वन जोगाउन जनता लागि परे अहिले नेपालमा ५३ प्रतिशत हराभरा वनजंगल छन् । त्यसैगरी वातावरणलाई पनि जनताको हातमा सुम्निसके वातावरण जोगिने कुरा निश्चित छ’, मन्त्री नेपालले भने ।

वातावरण विज्ञान केन्द्रीय विभाग विज्ञान तथा प्रविधि अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय कीर्तिपुर तथा वातावरण विभाग, वन तथा वातावरण मन्त्रालय नेपाल सरकारको आयोजना र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसको सह आयोजनामा आज हेटौँडामा भएको कार्यक्रममा मन्त्री नेपालले यस्तो कुरा बताएका हुन् ।

वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुलाई लक्षित गरी गरिएको वातावरण सम्बन्धि सचेतनामुलक कार्यक्रममा प्लाष्टिक न्यूनिकरण, नदीजन्य वस्तुको व्यवस्थापन, धुलोधुवा रहित वातावरण लगायतका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वातावरण निरिक्षक भुपेन्द्र शर्मा, सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भारमेन्टल साइन्स त्रिभुवन युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर डा.सुमन मान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसै अन्र्तगत हेटौँडामा ५ गते शनिवार सरसफाई कार्यक्रम गरिने योजना रहेको आयोजकले जनाएका छन् । कार्यक्रम वनविज्ञान अध्ययन संस्थानका उपप्राध्यापक विक्रम मानन्धरको सभाध्यक्षतामा भएको थियो ।