समर लभ टोलीद्वारा प्रचारप्रसारमा तिव्रता
गुगलपाटी संवाददाता हेटौँडासुबिन भट्टराईको चर्चित उपन्यासमा आधारित फिल्म समर लभ टोली मोफसलमा प्रचारप्रसारलाई तिब्रता दिएका छन् । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी फिल्मबारे जानकारी दिएको टोली पूर्वी नेपाल गएका छन् ।
माघ २५ गतेदेखि समर लभ अल नेपाल रिलिज हुने भएकाले प्रचारप्रसारलाई तिव्रता दिएको निर्मातामध्येका एक खगेन्द्र श्रेष्ठले बताए । ‘आईतबार धरान र ईटहरीमा, सोमबार दमक र बिर्तामोड र समयले भ्याए विराटनगरमा पनि पत्रकार भेटघाट गर्छौ,’ उनले भने, ‘मंगलबार पोखरामा र पुनः चितवन पत्रकार सम्मेलन गर्दै काठमाडौंका कलेजमा क्याम्पीयन गर्ने तयारीमा छौं ।’
समर लभ टोलीले चितवनमा पुस ३० पत्रकार सम्मेलन गर्दै मोफसल यात्रा शुरु गरेको थियो । मंगलबार नेपालगञ्जमा, बुधबार दाङ्गमा र बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रचारप्रसार गरेको थियो ।
पर्याप्त वक्र्कसप र तीन बर्ष लगाएर छायाङ्कन गरेकाले फिल्म दर्शकले रुचाउँनेमा आशावादी रहेको नायक आशिष पिँयाले बताए । ‘चर्चित उपन्यास अनुसारै देश–विदेशका सुन्दर स्थानमा छाँयाङ्कन गरेका छौं,’ फिल्ममा अतीतको मुख्य भुमिका निभाएका उनले भने, ‘हामीले निक्कै मिहेनत गरेकाले फिल्मले मायाँ पाउनेमा ढुक्क छौं ।’
फिल्ममा शायाको भुमिका निभाएकी नव नायिका रेवती क्षेत्रीले बलिउडमा पनि काम गरि सकेकाले समर लभमा निखारता पस्केको बताईन् । दुई करोड बढी खर्च भएको फिल्म सिंगापुरसँगै काठमाडौं, पोखरा, धनगढी लगायतका स्थानमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्माता ईन्दु भण्डारीले फिल्म हेर्ने एक जना भाग्यमानी दर्शकले लक्की ड्र मार्फत् थाईल्याण्डको भ्रमण गर्न पाउने बताईन् । उनका अनुसार विजेता घोषित हुनेले फिल्मको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य शेयर गरेको हुनुपर्ने छ भने फिल्म हेरेको टिकट साथमा हुनुपर्नेछ ।
नायिका नम्रता सापकोटाले फिल्ममा सुस्मिताको भूमिका निभाएकी छन् ।
मुस्कान ढकालको निर्देशन रहेको फिल्ममा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, सरोज खनाल, ओम प्रतिक, शिशिर भण्डारी लगायतको अभिनय छ ।
माघ २५ गते देशभरका करिब एक सय २० वटा सिनेमा हलमा एकसाथ प्रर्दशन हुने फिल्मका निर्देशक ढकालले यसअघि चर्चित फिल्म ‘नाई नभन्नु ल ३’ निर्देशन गरेका थिए ।
सुबिनको कथामा सामीप्यराज तिमल्सेनाको पटकथा तथा सामिप्य र सुबिनकै संवाद रहेको छ । नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र श्रेष्ठ र ईन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् । फिल्ममा स्वपन सरकार र मनोज विक सह–निर्माता छन् ।
समर लभ-उपन्यास चर्चित, फिल्म कस्तो छ त ? SUMMER LOVE Movie Press Meet Video l Rewati Chhetri l Ashish Piya