प्रदेश नम्बर ३ लाई जातीय राज्य बनाउन माग

गुगलपाटी संवाददाता मकवानपुर
२० चैत्र २०७४ ०९:२७

प्रदेश नम्बर ३ को नाम ‘नेवा–ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमणि पौडेललाई आज ज्ञापन पत्र बुझाईएको छ ।

मुख्यमन्त्री पौडेलको कार्यकक्षमा पुगि नेपाल तामाङ घेदुङ र नेवा देय दबुले संयुक्त रुपमा प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्न माग गर्दै ज्ञापन पत्र बुझाईएको रेडियो हो । तामाङ घेदुङका केन्द्रिय महासचिब बाबु घिसीङ र नेवा देय दबुका केन्द्रिय अध्यक्ष नरेश कुमार ताम्राकारको नेतृत्वमा मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो ध्यानाकर्षण भएको र संसद बैठकमा छलफलमा लिएर जाने आश्वासन व्यक्त गरेका छन् । प्रदेशको राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाईले निर्णय गर्ने विषय भएको भन्दै मुख्यमन्त्री पौडेलले सोही अनुसार नामाकरण हुने बताए । नामाकरण र राजधानी आफ्नो हातको कुरा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले आफुले सक्दो पहल भने गर्ने र प्रदेशसभामा त्यस विषयमा छलफल गरिने बताए ।

घेदुङका तर्फबाट अध्यक्ष मोहन गोले र दबुका तर्फबाट ताम्राकारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा प्रदेश राजधानी केन्द्रीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको जिल्लामा राखिनुपर्ने भन्दै प्रदेश राजधानी हुनुपर्ने विभिन्न आधारहरु समेत उल्लेख गरिएको छ । साथै उल्लेख भएका विवरणहरुका अनुसार प्रदेश नम्बर ३ को राजधानी काभ्रेको बनेपा,धुलिखेल,पनौति नगरपालिका लगायतको क्षेत्रमा तोक्न उपयुक्त हुने समेत दाबी गरिएको छ । साथै प्रदेशको सरकारी कामकाजी भाषाका रुपमा नेपाली भाषासहित तामाङ भाषा र नेपाल भाषालाई बनाउन माग गरिएको छ ।

प्रदेशका विद्यालय तथा विश्वविद्यालयहरुमा मातृभाषा शिक्षा अनिवार्य विषय बनाउनुपर्ने लगायतका विभिन्न ५ वटा मागहरु पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउन ताम्राकार र घिसिङसहित नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष लिलाकुमार घलान, विद्यूत बज्रचार्य, सुवास सिन्तान, सुनिल मोक्तान सहित संचारकर्मीहरु पुगेका थिए ।