एमाले र माओवादीको पार्टी एकता वैशाख ९ मा

गुगलपाटी संवाददाता
२१ चैत्र २०७४ ०१:०८

काठमाडौं २० चैत,

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने समझदारी गरेको छ । अन्तरिम विधान र सांगठनिक संरचनाबारे सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको छ । नेताहरुका अनुसार बैशाख ९ मा पार्टी एकता घोषणा गर्ने समझदारी भएको छ । पर्सि बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमाले र माओवादीबीच फागुन ७ मा नै एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखे सहमति भएको थियो । तर, कार्यदलले केही विषयमा निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ । एकीकृत पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय प्रस्ताव गरिएको छ । तर, एमाले र माओवादीबाट कतिकति भन्ने टुंगिएको छैन । एमाले नेताहरुले जनमत अनुसार २०० एमाले र ९९ माओवादीबाट गर्दा उपयुक्त हुन तर्क गरेका छन् । तर, माओवादी शीर्ष नेताहरुले नै बराबरी सिद्धान्तका आधारमा मात्र पार्टी एकता हुने बताएका छन् । यस्तै जनयुद्ध शब्द विधानको प्रस्तावनामा राख्ने नराख्ने विवाद छ । चूनाव चिन्हबारे पनि सहमति हुन सकेको छैन ।