आज मकवानपुरगढीमा राष्ट्रपति आउँदै, विजयोत्सव मनाइँदै
गुगलपाटी संवाददाताहेटौंडा–राष्ट्रपति विद्यादेवी भण्डारी आज मकवानपुरको ऐतिहासिक किल्ला मकवानपुरगढीमा आउने भएकी छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ मा रहेको ऐतिहासिक गढी दरबारमा विजयो त्सव मनाउन राष्ट्रपति आउन लागेकी हुन् । सेन वंशीय शासकसँगको विजयको २५६औं उत्सव मनाउने क्रममा आवश्यक सम्पूर्ण तयारी पूरा भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।
ऐतिहासिक गढीभित्र सात प्रदेश अंकित नेपालको नक्सा कुँदिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नक्साको अनावरण र झण्डोत्तोलन गर्ने कार्यक्रम छ । राष्ट्रपतिको स्वागतका लागि गढी दरबार परिसर विशेष बनाइएको छ ।
मञ्च व्यवस्थापन, स्वागतद्वारलगाएतको काम सकिएको उनले बताए । यस्तै, सेनाको संरक्षणमा रहेको दुई वटा तोपहरु पनि गढी दरबारमा पु¥याइएको छ । गाउँपालिकाले मकवानपुरगढीको विकासको अवधारणापत्र राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।
कार्यक्रमलाई राष्ट्रपति सहित पर्यटन मन्त्री रविन्द्र अधिकारी, मुख्यमन्त्री डोरमणि पौडेलले पनि सम्बोधन गर्ने बताइएको छ । मकवानपुर गढीको विकासका लागि गाउँपालिकाले डिपिआरको तयारी गरिरहेको छ ।
नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा मकवानपुरगढी पनि परेकोले प्रदेश सरकार र केन्द्र सरकारसँग पनि सहयोगका लागि पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।