मकवानपुरमा बंगाली सेनासँग लडाइँ
केदारप्रसाद न्यौपाने हेटौंडानेपालको तराईमा भएका तत्कालीन राज्यमा मिथिला, जनकपुर, कपिलवस्तु, सिंहपुर, कञ्चनपुर, धनगढी, बारा सिम्रौनगढ र मकवानपुर राज्यहरू थिए । तीमध्ये मकवानपुर राज्य १३औँ शताब्दीको प्रारम्भमा रुपसेन, औलियाबाबा, मुकुन्द सेनजस्ता राजा प्रख्यात भएको पाइन्छ । वर्तमान सप्तरी र सुनसरी जिल्लामा भौतिक पूर्वाधारको भग्नावशेष अद्यावधि छ ।
रुपसेनको राजधानीलाई रूपनगर भनिन्छ । रूपनगरमा राज्य गर्ने प्रथम राजा को थिए रु कति पुस्ता त्यहाँ राजा भए भन्ने प्रमाण पाइएको छैन । सुनसरी विजयपुरमा गादी गणेश मन्दिर छ । त्यहाँ सेन राजा राजगद्दीमा बस्दा गादी गणेशको मन्दिरमा सर्वप्रथम राज्यरोहण गर्थे ।
अहिले पनि त्यहाँ एक शिला छ, त्यहीँ गणेशको पूजाआजा गरिँदै आएको पाइन्छ । कोसीनदी किनारमा चतरा मठ छ । त्यो मठ सुनसरी जिल्लामा पर्छ । त्यो मठलाई चतरा गद्दी भन्ने गरिएको छ । त्यो मठलाई औलियाबाबाको मठ र गद्दी भनिँदै आएको पाइन्छ । मठमा जगत् गुरु बालसन्त मोहनशरण देवाचार्य बस्दै आएका छन् । यो मठ मकवानपुरका सेन राजाद्वारा प्रदत्त थियो भनिएको छ ।
मन मुकुन्देश्वर भनी औलियाबाबाको समाधिनिर उल्लेख छ । सेनवंशीय निःसन्तान राजा औलियाबाबा थिए । अर्को स्रोत माकन्दसेन वा मुकुन्दसेनलाई सेनवंशीय पुर्खा मात्र होइन, मकवानपुरकै राजा भनिएको पाइन्छ ।
रूपनगर क्षेत्रको यत्रतत्र गणेश, महेश्वर, नारायण, विष्णु आदिका मूर्ति पाइएको छ । यी मूर्ति १३ औँ शताब्दीको भनी किटान भएको छ । त्यहीँ राजदरबार, पोखरी, कचहरी, सिसमहल, घोडादौड आदिका अवशेष, भग्नावशेष आद्यावधि छन् । यहीँ नै सर्वप्रथम सेन राजाहरू बसेका थिए । यहाँ शम्भुनाथ, राजविराज, गढिया, मानराजा आदिका भग्नावशेष छन् । सेन राजाले आफूलाई मकवानी भनेका छन् । यसकारण मकवानपुरसित उनीहरूको कुनै न कुनै सम्बन्ध छ । मुकुन्द, माकन्द, मोकाम आदि भएर कालान्तरमा मकवानपुर भएको छ । मकवानपुरको पहाडी थुम्काको शिरोभागमा किल्ला निर्माण तुलासेनले गराए भन्ने लेखिएको छ । मकवानपुरका राजाको नाम तुलासेन भन्ने कहीँ पाइँदैन ।
सेन वंशावली विभिन्न समयमा विभिन्न व्यक्तिबाट संकलित वंशावली हो । यो वंशावलीमा एकरूपता देखिँदैन । पछिल्लो समय पाल्पाबाट सेन राजा मकवानपुर आएको भन्ने इतिहासकारको धारणा छ । मकवानपुरबाट पाल्पातर्फ गएको भन्ने उल्लेख हुनैपर्ने हो, भएको छैन । मकवानपुरबाट पश्चिम गएका र पश्चिमबाट मुकुन्द सेन दोस्रोका छोराको अंश भाग लगाउँदा लोहाङ सेन मकवानपुर आएर गढीमा राजधानी गरेका थिए ।
गुरगिन खाँको फौज होचो ठाउँ शिखरकटेरीतर्फ लागेको देखेर गोर्खाली फौजले अग्लो स्थानबाट ढुंगामुढा लडाई बन्दुक ताकेर माघ ९ गते रातिदेखि १० गतेसम्म शत्रुपक्षसँग लडे । मुगल सैनिकका १७ सय फौज हताहत भए । गोर्खालीको मनोबल उच्च भयो र बाँकीलाई लखेट्दै सिमाना कटाए ।
पाल्पाका सेन राजाहरूको वंशावलीमा श्री मकवानी भूप भनेर किटान गरिएको छ । धार्मिक पुस्तक हिमवत्खण्ड पुराणमा पाल्पातर्फका सेन राजाहरूको विषयमा चर्चा हुँदा ‘मकवानीय वंशोयम’ भनेकै छ । पाल्पा राज्य स्थापना गर्ने राजा रुद्रसेनले ई. १४८३–१५१८० हामी मकवानी हौँ भनेका छन् । सप्तरीमा सेनवंशीय संरचनाको भग्नावशेष छ, जसमा औलियाबाबाको समाधिस्थलनजिक मुकुन्द सेन नामको शिला पाइएको छ । मकवानपुरको ऐतिहासिक रूपरेखामा मकवानपुर शब्द, मुकुन्दपुर, मकवानी, मोकांमपुर, माकन, माकन्दपुरबाट बनेको भनिएको छ ।
पाल्पाली मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेनको भागमा मकवानपुर गढी अंश भाग परेकाले दरबार निर्माण गरी सन् १५५३–१५९१ सम्म शासन गरे । उनका छोरा राघव सेनले ई. १५९१–१६३१ सम्म सोही ठाउँमा शासन गरे । राघव सेनका छोरा हरिहर सेनले १६३१–१६७२ सम्म मकवानपुरमा शासन गरे । त्यसपछि अंश लगाएर दुई भागमा शासन गरेका कोसीपूर्व विजयपुरमा इन्द्र विधाता सेन र कोशी पश्चिम मकवानपुर गढीमा शुभ सेनले क्रमशः १६७२–१७०६ शासन गरे । शुभसेनका छोरा माणिक सेन इ.सं। १७०७–१७३० सम्म राजा भए । त्यसपछि उनका छोरा हेमकर्ण सेन इ।१७३०–१७५९ सम्म शासन गरेको देखिन्छ ।
त्यसपछि उनका छोरा दिग्वंन्धन सेन इ। १७५९–१७६२ अगस्ट २१ अर्थात् वि.सं. १८१९ भदौ ९ सम्म शासन गरे । १८१९ भदौ ९ मा गोरखाका ज्वाइँ राजा पृथ्वीनारायण शाहको फौजले मकवानपुुरमा विजय हासिल गरी एकीकरणको प्रारम्भ गर्यो । मकवानपुर राज्य तत्काल ठूलो आर्थिक स्रोत भएको शक्तिशाली राज्य थियो । यो मकवानपुर गढीको प्रत्यक्ष तीन भाग छ । मुख्य गढी, सानो गढी र ढुंगे गढी दरबारको पूर्व/पश्चिम पानी जम्मा गर्ने खाडल, मुख्य गढीभित्र दुईवटा दरबार बालगोपालवंशी गोपाल मन्दिर र सिद्धेश्वर महादेव मन्दिर छन् ।
मकवानपुर राज्यको एकीकरण
राजा पृथ्वीनारायण शाहको नुवाकोट ९वि.स. १८०१ असोज १५ गते विजयले नेपालको पुनः एकीकरणको प्रारम्भ भए पनि सो क्षेत्र कान्तिपुरको स्वसाशित क्षेत्र थियो । मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी सेनसँग पृथ्वीनारायण शाहको धुमधामसाथ वि.सं. १७९५ फागुनमा विवाह सम्पन्न भयो । तर, पहाडको चलनअनुसार दाइजोसहित दुलही पठाउनुपर्नेमा तराईको चलनअनुसार गौन गरेर मात्र पठाउने चलन हुँदा दुवै पक्षले आ–आफ्नो चलन भनी अडिक लिए । जेठान दिग्बन्धन सेनसँग वादविवाद भई उनको राम्रो सम्बन्ध हुन सकेन । तीनपटक दुलही लिन जाँदा पनि विवाहको समयमा दिएको दाइजोका कारण विवाद चुलियो र अर्को विवाह भयो ।
वि.सं. १८१६ मा ससुरा हेमकर्ण सेनको मृत्यु भएपश्चात् काठमाडौं उपत्यकामा आर्थिक नाकाबन्दी लगाउनुपर्नेमा जेठान दिग्बन्धन सेनबाट बाधा विरोध भइरहेकाले मकवानपुर विजय गर्न अत्यावश्यक भएर आफू दहचोक गढीमा बसी सेना पठाएर १८१९ भदौ ९ गते मकवानपुर विजय भयो । नेपाल एकीकरणमा पहिलो राज्य जितेकाले मकवानपुर गढीको विशेष महत्व छ ।
स्थायी सेना नभएकाले सर्वप्रथम वि.सं. १८१९ असोज ५ गते श्रीनाथ र काली बक्स कम्पनी, ऐ. असोज ९ गते बर्दवानी र सबुज गण कम्पनी खडा गरियो । तत्पश्चात् मकवानपुरकै पूर्वमा पर्ने हरिहरपुर गढीमा दिग्बन्धन सेन र उनका परिवार मन्त्री कनकसिंह बानियाँसमेत छन् भनी गोर्खाली गएर ऐ। असोज २२ गते गढी कब्जा गरे ।
दिग्बन्धन सेनले गोर्खालीलाई मकवानपुुरबाट हटाइदिन बंगालका नबाब मुगल मिरकासिमसँग अनुरोध गरे । पराजित राजा दिग्बन्धनसँगको अनुरोध स्विकारी सेनापति गुरगिन खाँको नेतृत्वमा मिरकासिमले सेना पठाए । हर्नामाडी वि.स. १८१९ पुस २७ गते आएर ठानामा आक्रमण गरे । यो खबर राजा पृथ्वीनारायण शाहकहाँ पुग्यो ।
गढीको सुरक्षार्थ सरदार नन्दु शाहको अगुवाइमा ४ सय सेना थिए । दहचोकबाट राजाले थप फौज काजी वंशीराज पाँडे र बख्खी नाहरसिंह बस्न्यात नेतृत्वमा फौज मकवानपुर गढी पठाए । गुरगिन खाँको फौज होचो ठाउँ शिखरकटेरीतर्फ लागेको देखेर गोर्खाली फौजले अग्लो स्थानबाट ढुंगामुढा लडाई बन्दुक ताकेर माघ ९ गते रातिदेखि भएको घमासान युद्धमा १० गते विजय प्राप्त गरे ।
मुगल सैनिक १७०० फौज हताहत भए । गोर्खालीहरूको मनोबल उच्च भयो र बाँकीलाई लखेट्दै सिमाना कटाए । गोर्खालीतर्फ पनि २५–३० जनाले वीरगति पाएका थिए । यो युद्धबाट दुई तोप करिब ५०० नाल आधुनिक बन्दुक अन्य हातहतियारसमेत गोर्खालीलाई लाभ भयो । यसरी ऐतिहासिक पुष्टि भएपछि २०६६ सालदेखि मकवानपुरगढी पर्यटन विकास समन्वय समितिले माघ १० गते विजय उत्सव मनाउँदै आएको छ । स्थानीय सरकार गठन भएपछि मकवानपुर गढी गाउँपालिकालाई अनुरोध गरी विजय उत्सव मनाउन लागिपरेको हो । नेपाली सेनाको सहयोगमा सम्माननीय राष्ट्रपतिज्यूलाई निमन्त्रणा गरेर गढीको महत्व उच्च राख्न विजय उत्सव भइरहेको छ ।
(लेखक मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव हुन्)