हिउँ खेल्ने पर्यटकले भरियो दामन

गुगलपाटी संवाददाता
१३ माघ २०७५ ०३:१५

हेटौंडा– मकवानपुरको उत्तरी क्षेत्रस्थित पर्यटकीय गन्तव्य सिम्भञ्ज्याङ तथा दामान क्षेत्रमा शुक्रबार राति हिमपात भएसँगै आन्तरिक पर्यटकको घुँइचो  लागेको छ ।

समुन्द्री सतहबाट दुईहजार चारसय ८८ मिटर उचाइमा रहेको उक्त क्षेत्रमा शुक्रबार साँझबाट हिमपात सुरुभएसँगै त्यसक्षेत्रमा हेटौंडा, काठमाडौं, बारा, पर्सा तथा अन्य स्थानबाट हिउँ खेल्न आउनेको संख्या बढेको र त्यहाँका सवै होटल तथा होमस्टेहरु भरिएको थाहानगर उद्योग बाणिज्य संघ महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझ हिउँ परेको र शनिबा सार्वजनिक बिदा भएको कारण पनि हिउँ खेल्नेको संख्या अघिल्लो वर्षको तुलनामा बढी भएको हो । करिब पाँचहजार भन्दा बढी युवाहरु हिउँ खेल्नका लागि सिमभञ्ज्याङ तथा दामन क्षेत्रमा पुगेका छन् ।

‘हिउँले सिम्भञ्ज्याङ र दामान निकै मनमोहक देखिएको छ । सिम्भञ्ज्याङमा विशेष गरी हिउँ खेल्नका लागि युवाहरु आइरहेका छन् । उनीहरु आफ्नै निजी
सवारीमा आइरहेका छन् । अहिले सवारी पार्किङमा समेत समस्या देखिएको छ ।’ महासचिव प्रधानका अनुसार सिमभञ्ज्याङ, दामान र पालुङ क्षेत्रमा रहेका २९ वटा होटल पूर्ण रुपमा भरिएका छन् । त्यसक्षेत्रमा बसोबासका लागि समस्या देखिसँगै कतिपय पर्यटकहरु बज्रबाराही, चित्लाङ तथा मार्खुतर्फ लागेको उनले बताए । उनका अनुसार उत्तरी क्षेत्रका होटल तथा होमस्टेमा गरी एकहजार पाँचसय जना क्षमता
रहेको छ ।

सिम्भञ्ज्याङस्थित होटल हिम शिखरका सञ्चालक सुजन श्रेष्ठका अनुसार शुक्रबार साँझबाटै काठमाडौंबाट पर्यटकले त्यसक्षेत्रका सवै होटल भरिएका छन् । ‘युवाहरुको ठूलै टोली रातभर आगो बालेर नाचगान गरेरै रात कटाए । हामीले भान्सा समेत पर्यटकलाई सुत्न दियौं । तर, पनि कोठाको अभाव भयो ।’ उनका अनुसार शनिबार राति अझै होटलहरुको अभाव हुने देखिन्छ ।

उनका अनुसार त्यसक्षेत्रका होटलहरुमा कोठा नपाएसँगै कतिपय पर्यटकहरु आफ्नो घरतर्फ  फर्किएका छन् । पालुङस्थित होटल शंकरका सञ्चालक सन्तोष खत्रीका अनुसार होटलका सवै कोठा  भरिएको र सभासेमिनार गर्ने हल समेत भरिएका छन् । ‘हामीले पर्यटकको माग अनुसारको खाना मात्र खुवाउन सकिरहेका छौं । सुताउन सकेका छैनौं ।’ होटल मात्र नभएर त्यसक्षेत्रका क्लबहरुमा समेत पर्यटकलाई सुत्ने व्यवस्था  मिलाइएको छ ।