श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददाता काठमाडौंसशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको स्मृतिमा माघ १२ गते सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा ललितपुर नम्बर २१ गण खुमलटारमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको छ ।
त्यसअवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सशस्त्र प्रहरी सहायक निरीक्षक थमनसिंह राई र प्रहरी सहायक निरीक्षक विनिता थापालाई ‘कृष्णमोहन–नुडुप कार्यदक्षता पुरस्कार’ प्रदान गरे । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द सुवेदीलाई ‘सूर्य रेग्मी उत्कृष्ट अंगरक्षक पुरस्कार’ तथा महेन्द्र भृकुटी माध्यमिक विद्यालय बागडोलमा कक्षा ८ मा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीहरुलाई ‘कृष्णमोहन–नुडुप छात्रवृत्ति’ प्रदान गरे ।
कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्गिय श्रेष्ठ दम्पतीको शालिकमा रिथ चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
त्यसैअवसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अवकास प्राप्त महानिरीक्षकहरुले स्व। श्रेष्ठ दम्पतीको शालिकमा पुष्प गुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्व.कृष्णमोहन श्रेष्ठलाई एक कर्तव्य परायण र असल व्यक्तित्व भएको स्मरण गर्दै उनको शालिन व्यवहार, आफु मातहातका कर्मचारीलाई गर्ने व्यवहार र गुनासो व्यवस्थापन गर्ने शैली अनुकरणीय रहेको बताए ।
सो कार्यक्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत लगायत विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।