दैलेख–सुर्खेतको सीमावर्तीमा चार वर्षपछि हिमपात

गुगलपाटी संवाददाता सुर्खेत
१३ माघ २०७५ ०९:१५

दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ।

वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ परेको जनाएको छ।

कर्णालीका हिमाली भेगमा यसअघि नै हिमपात भए पनि दैलेखको गुराँसे र सुर्खेतको रातानाङ्ला क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न सुरू गरेको थियो।
क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले पछिल्ला चार वर्षयता यसपटक बाक्लो हिउँ परेको बताए।

जल तथा मौसम विज्ञान विभागले सोही क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ। हावापानी कार्यालयले राडारकै सहायताले हिमपात र वर्षाको विवरण सङ्कलन गर्न थालेको छ।

गुराँसे मात्रै नभई तल्लो तटीय क्षेत्र रानीमत्ता, निगालपानी, धरमपोखरा, सेरी गाइबान्ना आसपासमा पनि बाक्लो हिमपात भएको छ। वीरेन्द्रनगरदेखि रानीमत्ता, रातानाङ्ला र गुराँसेमा हिउँ हेर्न जानेको लर्को लाग्ने गरेको छ। हिउँ हेर्नेको भीडले सुर्खेत–दैलेख सडकखण्डको रातानाङ्लामा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्नै मुश्किल हुने गरेको छ। (रासस)