आखिर एउटा स्टाटसले बचायो चेपाङ शिशुको ज्यान (आउनुहोस् तपाई पनि सहयोग गर्नुहोस्)

गुगलपाटी संवाददाता
१४ माघ २०७५ ०२:४०

हेटौंडा– सामाजिक सञ्जालमा राखिएको एक स्टाटसमार्फत मकवानपुरको बिकट गाउँका विपन्न एक चेपाङ शिशुको लागि उपचार खर्च जुटेको छ । अझै जुट्ने क्रममा रहेको छ । 

हेटौंडा १४ मयुरधाप निवासी, श्री जनज्योति माविका शिक्षक तथा साहित्यकार विशाल अधिकारी आशुतोषले मकवानपुरको सरिखेतका दुई महिनाका युसेफ प्रजाको उपचारको लागि आर्थिक समस्या भएको तथा एमबुलेन्स भाडासमेत नभएर अलपत्र परेको स्टाटस राखेका थिए ।

शनिबार बिहान साढे ४ बजे हेटौंडा अस्पतालमा बालकको बिजोक देखेपछि उनले हेटौंडा अस्पतालको इमेर्जेन्सी कार्डसहितको स्टाटस राखेपछि तत्काल सिविन बाल हेल्पलाइनले शिशुलाई चितवन सरकारी अस्पताल पु¥याएको थियो । लगतै उनको सरकारीबाट पनि चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।

शिशुको उपचारमा आर्थिक अभाव भएको भन्ने जानकारी पाएपछि अधिकारीले अर्को स्टाटसमार्फत आफैंबाट सहयोग घोषणा गरी अरुलाई पनि सहयोग आह्वान गरेका थिए ।  उनको स्टाटसमा कमेन्ट गर्दै सहयोगको प्रतिवद्धता भए । आइतबार अधिकारीले उक्त सहयोग घोषणा भएको रकम संकलन गरी १० हजार ६ सय रुपैयाँ बालकको उपचारको लागि सिविन बाल हेल्पलाइन हेटौंडामार्फत हस्तान्तरण गरे ।

आफूले स्टाटस राखी सहयोगको आग्रह गरेपछि अन्य क्षेत्रबाट पनि सहयोगको लागि प्रतिवद्धता पाएको अधिकारीले जानकारी दिए । बालकको उपचारको लागि करिब ५० हजार भन्दा बढी खर्च लाग्ने बताइएको छ ।

हेर्नुहोस् शिशुको उपचारको लागि आग्रह गर्दै विशाल अधिकारी आशुतोषले राखेको स्टाटस