शहिद दिवसको अवसरमा दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना
गुगलपाटी संवाददाता काठमाडौंशहिद सप्ताहको अवसरमा मंगलबार शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना गरिएको छ ।शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गरेको काठमाडौको शोभाभगवतीमा मंगलबार बिहान आयोजित श्रद्धाञ्जली सभामा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायत सर्वसाधरणले शहीदद्धयको शालिकमा माल्र्यापण गर्दै उहाँहरुले पुर्याएको योगदानको स्मरण गरियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गदै महानगरका मेयर शाक्यले शहीदको सपना साकार पार्नका लागि दलिय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।
दलीय स्वार्थका कारण राम्रो काममा पनि असहयोग गर्ने प्रवृति देखिएको भन्दै उनले त्यसलाई चिरेर सम्वृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा अघि बढ्नुपर्ने बताए ।
उनले विभिन्न वहानामा महानगर भित्रका सार्वजनिक जग्गा कब्जा गर्ने काम भइरहेको भन्दै त्यसो नगर्न सबैलाई सचेत गराए ।
सार्वजनिक संस्था, व्यक्ति विशेष र वृक्षरोपण लगायतका नाममा योजना विना नै सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्दा महानगर कुरुप बन्दै जाने भन्दै उनले योजनवद्ध विकासमा सहयोग पुर्याउन सबैलाई आह्वान गरे ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि। सं। १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।
निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा,७ दिनपछि धर्मभक्त माथेमालाई सिफलमा र ९ दिनपछि अर्थात् माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । हरेक बर्ष माघ १० देखि १६ गते सम्म शहीद सप्ताह मनाउने गरिन्छ । स्रोतः रातोपाटी