हेटौंडाका ८१ विद्यालयमा बाँडियो सेनेटरी प्याड, प्याड लगाउने छुट्टै कोठा
गुगलपाटी संवाददाताहेटौंडा– महिनाबारी हुँदा पढाई नै छाड्ने छात्राको संख्या बढ्दो देखिए पनि हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका ८१ वटा विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।
नगरका आधारभूत तथा माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि उपमहानगरपालिकाले सेनेटरी प्याड वितरण गरेको हो । पहिलो चरणमा ५ हजार ५ सय ५६ वटा प्याड वितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।
आधारभूत तथा माध्यामिक तहमा अध्ययनरत सामुदायिक विद्यालयका छात्राहरुलाई महिनावारीको समस्याका कारण अब पढाईनै छोड्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सेनेटरी प्याड हरेक विद्यालयलाई वितरण गरिएको हो ।
चालु आर्थिक वर्षमा प्रत्यक छात्राहरुलाई पुग्नेगरी थप ६ हजार ५ सय ५० वटा सेनेटरी प्याड वितरण गरिने उपमहानगरपालिका शिक्षा महासाखाका प्रमुख उपसचिव लिला गौतमले बताए । सेनेटरी प्याड प्रयोग गर्नका लागि समस्या भएका विद्यालयमा यस्ता कोठाहरु पनि बनाउने तयारी उपमहानगरपालिकाको छ ।