प्रहरीलाई झूटो खबर दिने पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंझुटो खबर दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बैंकमा जम्मा गर्न लगेको रकम ‘लुटियो’ भन्दै ट्राभल्स एजेन्सीको मालिक र प्रहरी समेतलाई झूटो खबर दिने तिलकराम अधिकारी पक्राउ गरेको हो ।
स्याङ्जा स्थायी घर भएका अधिकारीलाई बुधवार गोंगवुमा रहेको रियल टाईगर टुर्स एण्ड ट्राभल्सकी सञ्चालिका डेजिना बस्नेतले ८ लाख १५ हजार रुपैयाँ बैंकमा जम्मा गर्न भन्दै पठाएकी थिइन् ।
तर, अधिकारीले बुधबार मध्यान्ह साढे १ बजेतिर केही ब्यक्तिले बन्दुक देखाएर, नशालु पदार्थ समेत सुँघाएर नगद लुटेर फरार भएको भन्दै ट्राभल्समा जानकारी गराएका थिए ।
ठूलो परिणामको नगद लुटपाट भएको खबर आएसँगै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उक्त रकम नलुटिएको खुल्न आएको छ ।
‘अनुसन्धान गर्दै जाँदा अधिकारीले सामाखुसीस्थित अमृत डुम्रेको कोठामा उक्त रकम लुकाएको खुलेको छ । अपराध महाशाखाका प्रवक्ता (एसपी) नरेन्द्र उप्रेतीले भने, ‘लुकाएको नगद सहित अधिकारीलाई पक्राउ गरेका छौं, चोरी मुद्धामा म्याद थिएर थप अनुसन्धान गर्छौं ।’
प्रहरी अनुसन्धानका क्रममा अधिकारीले सामाखुसी बस्दै आएका अमृत डुम्रेसँग मिलेर क्लोरोफर्म नामक विषालु ग्यास (बेहोस बनाउने) किनेर एकले अर्कालाई सुँघाएर बनावटी घटना रचना गरेको खुलेको छ ।
बनावटी घटनालाई कारण बनाएर रियल टाइगर टुर्स एण्ड ट्राभल्सको रकम लुट्ने, चोर्ने योजनामा संलग्न अमृत डुम्रे फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको अपराध महाशाखाले जनाएको छ ।